काठमाडौं । काठमाडौंको दरबारमार्गमा शुक्रबार बेलुका ‘ग्याङफाइट’ भएको छ । काभ्रेली समूह र अर्को समूहबीच कुटाकट भएको हो।
गुन्डागर्दीमा कहलिँदै आएका संजीव लामा ‘स्याल’ले सञ्चालन गरेको लिक्विड लाउञ्जमा काभ्रेली समूहको कुटाईबाट बैतडीका रमेश भट्ट कुटिएका हुन् । भट्ट गृहमन्त्री रमेश लेखक निकट हुन् । लेखकलाई भट्टले मामा भन्ने गर्दछन् ।
गम्भीर चोट लागेकाले उनी अस्पताल भर्ना भएका छन् । राती अबेरसम्म मदिरा पिएर बसेपछि उनीहरूबीच झगडा भएको थियो । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले काभ्रेली समूहका ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रोशी गाउँपालिका-४ का कुलध्वज लामा, भुम्लु गाउँपालिका-४ का सुजन लामा, तेमाल गाउँपालिका-७ का मिलन लामा, भुम्लु गाउँपालिकाका सुलभ पहरी, तेमाल गाउँपालिका-५ का का युवराज लामा र सिन्धुपाल्चोक जुगल घर भएका दावा तामाङ छन्। उनीहरुमध्ये सुजन तरुण दल काभ्रेका अध्यक्ष हुन् ।
पक्राउ परेका सबै नेपाली कांग्रेसमा आबद्ध छन् । लाउञ्जका सञ्चालक संजीव स्याललाई भने प्रहरीले पक्राउ गरेको छैन । दुवैथरी नेपाली कांग्रेस निकट भएकाले दुवै पक्षले गृहमन्त्रीलाई दबाब दिइरहेका छन् ।
पक्राउ परेकालाई दरबारमार्ग वृत्तमा नराखी काठमाडौं परिसरले नै अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकामध्ये धेरै जसो गुण्डागर्दीमा संलग्न रहँदै आएका छन्।
