• Sunday 4th of October 2026

करिब २ लाख मान्छे भूमध्यसागर पार गरेर युरोप पुग्दा पच्चीस सय हराए


  • धनकुटा खबर
  • .

न्युयोर्क, १३ असोज । चालु वर्षमा करिब दुई लाख आप्रवासी भूमध्यसागर पार गरेर युरोप पुग्न सफल भए पनि दुई हजार पाँच सय जनाले भने ज्यान गुमाए वा उनीहरू हराएका शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।

“यो वर्ष एक लाख ८६ हजार मानिस भूमध्यसागर पार गरेर प्रवेश गर्दा दुई हजार पाँच सयभन्दा बढीको मृत्यु भएको वा बेपत्ता भएका निष्कर्षमा हामी पुगेका छौँ,” न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्त (युएनएचसीआर)का निर्देशक रुभेन मेनिकडिवेलाले सुरक्षा परिषद्लाई जानकारी दिएको अल जजिराले खबर प्रसार गरेको छ ।

युरोप प्रवेश गरेकामध्ये करिब एक लाख ३० हजार इटाली पुगेका छन् । ग्रीस, स्पेन, साइप्रस, माल्टालगायत देशमा पनि आप्रवासी पुगेको उनले जानकारी दिए ।

गत वर्षको तुलनामा यस वर्ष समुद्र पार गर्ने क्रममा मृत्यु हुने वा बेपत्ता हुनेको संख्या बढेको छ । जोखिमपूर्ण नाकाबाट यात्रा गर्दा धेरैले ज्यान गुमाएका सुरक्षा परिषद्लाई जानकारी गराइएको छ । अघिल्लो वर्ष एक हजार छ सय ८० जनाको भूमध्यसागर पार गरेर युरोप पस्ने क्रममा मृत्यु भएको थियो ।

एक लाख दुई हजार मानिसले ट्युनिसियाबाट भूमध्यसागर पार गर्ने प्रयास गरेका थिएभने करिब ५० हजार लिबियाको बाटो भएर युरोपतर्फ लागेका थिए । यी दुवै देशबाट भूमध्यसागर पार गर्नु अति जोखिमपूर्ण मानिन्छ । युरोप प्रवेशको यो यात्रामा पाइला–पाइलामा आप्रवासी र शरणार्थीले चरम मानवअधिकार उल्लङ्घनको शिकार हुनुपर्ने तथा ज्यान नै जाने अवस्थाबाट गुज्रनुपर्ने कहालीलाग्दो परिस्थिति पार गर्नुपर्ने निर्देशक रुभेनले बताए । एएनआई

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖