• Tuesday 6th of October 2026

डाक्टर कुट्नेप्रति सहानुभूति हुँदैन, डाक्टरले काम नछोड्नुस् : मुख्यमन्त्री पाण्डे


  • धनकुटा खबर
  • .

१३ असोज, पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डाक्टरमाथि कुटपिट गर्ने र स्वास्थ्य संस्था तोडफोड गर्ने व्यक्तिले उन्मुक्ति नपाउने बताएका छन् ।

स्वास्थ्य संस्थाप्रति जनताको विश्वास जगाउन र चिकित्सकको मनोबल बढाउन डाक्टर कुट्ने र स्वास्थ्य संस्था तोडफोड गर्ने व्यक्तिलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने उनको भनाइ छ ।

शनिबार गोरखा अस्पतालको शनिबार निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डेले डाक्टरमाथि कुटपिट गर्ने व्यक्ति आफ्नै पार्टीका कार्यकर्ता भए पनि सहानुभूति नरहने जिकिर गरे ।

‘अस्पतालमा भएका घटनामा संलग्नका बारेमा जुनसुकै पार्टीको होस्, चाहे मेरै पार्टीको होस्, चाहे अरु कसैको होस्, त्यसमा हाम्रो तर्फबाट कुनै सहानुभूति, सद्भाव केही पनि रहँदैन’, मुख्यमन्त्री पाण्डेले भने, ‘त्यस्ता गतिविधिमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउनैपर्छ ।’

डाक्टरमाथि एकपछि अर्को आक्रमणका घटना हुनु दुखद् भएको भन्दै उनले स्वास्थ्यजस्तो संवेदनशील विषयमा सबै गम्भीर हुनुपर्ने धारणा राखे । ‘हाम्रो एउटा मान्यता छ, बचायो भने भगवानले बचाउँछन् भन्छन्, डाक्टर भगवान होइनन्’, उनले भने, ‘मलाई लाग्दैन कि कुनै पनि डाक्टरले बिरामीलाई मारौँ भनेर उपचार गर्छ, यस्तो हामीले सोच्नु पनि हुन्न ।’

पछिल्लो केही समययता गण्डकी प्रदेशको पोखरा, लमजुङ लगायतका जिल्ला र देशका विभिन्न ठाउँमा चिकित्सकमाथि आक्रमणका घटना भइरहेको बताउँदै मुख्यमन्त्री पाण्डेले यो दुखद् घएको बताए ।

‘पछिल्लो समय अस्पतालमा अराजकता बढ्नुको कारण क्षतिपूर्ति दिने प्रथा पनि हो’, उनले भने, ‘हुलदंगा गर्योि भने क्षतिपूर्ति बढी पाउने, नपाउनेले पनि पाउने । त्यस्तो प्रवृत्तिले पनि चिकित्सक र अस्पतालमा अराजकता बढेको छ ।’

चिकित्सकमाथि हातपात र अस्पताल तोडफोड हुन नदिन जनप्रतिनिधिले पनि जनतालाई सचेतना जगाउनुपर्ने मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

समाजमा हरेक खालमा मानिस रहेकाले केही उच्छृंखल व्यक्तिले घटना घटाए भन्दैमा चिकित्सकले काम नै गर्न नसक्ने भयौँ भनेर नबस्न पनि उनले आग्रह गरे ।

डाक्टरहरुलाई राज्यले सुरक्षा दिने भन्दै मुख्यमन्त्री पाण्डेले कामै छोडेर नबस्न पनि आग्रह गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖