• Monday 5th of October 2026

रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा


  • धनकुटा खबर
  • .

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गतको खेलमा फराकिलो जित हासिल गर्दै रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ। एटलेटिको म्याड्रिडको शीर्ष स्थान खोस्दै साबिक बिजेता म्याड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लिएको हो।

शीर्ष स्थान सुरक्षित गर्ने क्रममा आइतबा राति रियलले लास पाल्मासलाई ४-१ ले हरायो।

जसमा केलियन एमबाप्पेको २ गोल रहेको थियो। घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन एमबाप्पेसँगै ब्राहिम डियाज र रोड्रिगोले समान एक गोल गरे।

पाहुना टोलीका लागि फाबियो सिल्भाको गोल सान्त्वना बनेको थियो।

खेलमा सुरुवाती अग्रता भने पाल्मासले लिएको थियो। सिल्भाले खेल सुरू भएको पहिलो मिनेटमा नै गोल गरेर अग्रता दिलाएका थिए।

तर, एमबाप्पेले १८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए।

खेलको ३३औं मिनेटमा डियाजले गोल गरेपछि रियलले अग्रता दोब्बर पार्‍यो। त्यसको ३ मिनेटपछि एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेका थिए। रोड्रिगोले ५७औं मिनेटमा अर्को गोल थपे।

जितसँगै २० खेलमा ४६ अंक जोडेको रियल शीर्ष स्थानमा उक्लिएको छ। समान खेलमा ४४ अंक जोडेको एट्लेटिको दोस्रो स्थानमा छ।

३९ अंकका साथ बार्सिलोना तेस्रो स्थानमा छ। २२ अंकसहित पाल्मस १४ औं स्थानमा छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖