• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

मुख नदेखाउने तर सपना देखाएर ठगी धन्दा


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ उपत्यकामा ठगी धन्दा चलाइरहेका दिनेश घिमिरेलाई प्रहरीले लामो प्रयासपछि पक्राउ गरेको छ । नुवाकोट ककनी गाउँपालिका वडा नम्बर–२ घर भएका ३५ वर्षीय घिमिरेले काठमाडौँ उपत्यकामा आफूलाई कुशल ठकुरीको नामबाट चिनाउँदै आएका थिए ।

उनलाई माघ ९ मा ठमेलस्थित चाइनिज रेष्टुरेण्टबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए ।

घिमिरे २०७२ देखि नै ठगीमा संलग्न रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । २०७२ पछि उनीविरुद्ध ठगी र बैंकिङ कसुरमा ९ वटा मुद्दा चलेको भेटिएको छ । पछिल्लो समय उपत्यका अपराध अनुसन्धान कार्यालयमा ८० लाख रुपैयाँ ठगी गरेको जाहेरी परेको एसपी आचार्यले बताए । उनले भने– ‘उनी विरुद्ध ११ वटा जाहेरी र ठाडो उजुरी परेको छ ।’

घिमिरेले ठग्नका लागि दुई वटा विधि प्रयोग गर्ने गरेका थिए । कसैलाई भन्थे, ‘म त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कर्मचारी हुँ, लिलाम गर्दा सस्तोमा गाडी र आइफोन मिलाइदिन्छु ।’ कसैलाई भन्थे, ‘सीआईबीको मानिस हुँ, जागिर मिलाइदिन्छु ।’

धेरै महिलाहरूलाई उनले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कर्मचारी हुँ भनेर लिलाम हुन लागेको आइफोन मिलाउने प्रलोभनमा पारेर ठगेको भेटिएको छ । आरोपी एक पटक गाडी धुने ठाउँमा पुगे । त्यहाँ एक जना चिकित्सक गाडी धुन आएको अवस्थामा भेटिए । दिनेशले उनलाई भने– ‘किन पुरानो गाडी चढ्नुहुन्छ, म भन्सार कार्यालयबाट लिलाम गर्न लागिएको नयाँ गाडी मिलाइदिन्छु ।’

भन्सारको कर्मचारीको परिचय दिएपछि चिकित्सकले उनलाई पत्याए । अनि, पेस्की रकम भनेर दिँदा ९ लाख रुपैयाँ गुमाए । आरोपीले दुई जना चिकित्सकलाई ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

भन्सार कार्यालयबाट लिलाम गर्न लागेको क्रेटा र स्कोर्पियो मिलाइदिन्छु भनेर उनले धेरैसँग रकम लिएर सम्पर्क विहीन भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । अनुसन्धानमा संलग्न डीएसपी मधु थापा भन्छन्, ‘लिलामीको आइफोन सस्तोमा दिलाउँछु भनेर उनले धेरैलाई ठगेको देखिन्छ ।’

मुख नदेखाउने शैली

आफूलाई कुशल ठकुरी भनेर परिचय दिँदै हिँड्ने दिनेश घिमिरे सधैँ मुखमा मास्क लगाएर हिँड्थे । शिरमा टोपी छुटाउँदैन थिए । चुरोट पिउँदा मास्क सारेर तान्थे र मुख छोपिहाल्थे । मुख नदेखाउने घिमिरे सपना देखाएर ठगी धन्दा चलाउँदै आएका थिए । कसैलाई गाडीको सपना, कसैलाई आफफोन र कसैलाई वैदेशिक रोजगारीको सपना देखाउँथे ।

भेट भएका मानिसहरूलाई सुन देखाउँथे र भन्थे– ‘भन्सारबाट मैले बरामद गरेको सुन हो, किन्ने भए सस्तोमा दिन्छु ।’ उनले देखाउने गरेको सुन नक्कली हुनसक्ने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

एउटै पीडितलाई उनले १६ लाखसम्म ठगेको भेटिएको छ । एयर होस्टेजहरुलाई उनले विदेश पठाउँछु भनेर ठग्ने गर्थे । उनी एक जना युवतीसँग लिभिङ टुगेदरमा बस्ने गरेका थिए । उनीबिरुद्ध प्रहरी वृत्त माली गाउँमा पनि ३ वटा जाहेरी दर्ता भएको भेटिएको छ ।

मुख नदेखाउने र नम्बर परिवर्तन गर्ने उनको शैलीका कारण अनुसन्धान अधिकृतहरू हैरान भएका थिए । निकै मेहनत गरेर उनलाई पक्राउ गरिएको एसपी आचार्यले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖