• Tuesday 6th of October 2026

एमाले उपत्यका प्रदेश कमिटीको प्रथम अधिवेशन लोगो सार्वजनिक


  • धनकुटा खबर
  • .

नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको असोज १९ र २० गते हुने प्रथम अधिवेशनको लोगो आज सार्वजनिक गरिएको छ । एमाले पोलिटव्यूरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज सुजिता शाक्यले आज लोगो सार्वजनिक गरेकी हुन् ।

सो अवसरमा इन्चार्ज शाक्यले पार्टीको संगठनात्मक कामलाई प्रणालीगत बनाई आगामी निर्वाचनमा पहिलो दल बनाउनेगरी काम गर्न मातहत कमिटीका सदस्यहरुलाई आव्हान गरेकी छन् । वर्तमान गठबन्धन सरकारले जनतालाई महँगीबाहेक केही नदिएको टिप्पणी गर्दै इन्चार्ज शाक्यले एमाले नेतृत्वको सरकारले मात्र जनता र देशको पक्षमा काम गर्ने बताए । त्यसका लागि आगामी निर्वाचन २०८४ मा एमालेलाई जिताएर सरकारको नेतृत्व गर्ने ठाउँमा पुगाउन जनतालाई उहाँले आग्रह गरिन् । “हामी देशको नेतृत्वमा जान सक्यौं भने मात्र समृद्ध नेपाल र सुखी नेपाली हाम्रै पालामा सम्भव हुन्छ” उनले भनिन् । उनले प्रदेश कमिटीको अधिवेशनमा प्रतिनिधि बन्नबाट छुट्नु भएकालाई पनि पार्टीले उचित जिम्मेवारी दिनेभन्दै निराश नहुन आग्रह गरेकी छन् ।

अधिवेशनका लागि प्रतिनिधि छनौटको काम शनिबार सम्पन्न भएको छ । अधिवेशनमा तीनसयभन्दा बढीको सहभागिता रहने सो अवसरमा जानकारी दिइएको छ । गैरभूगोलका विशेष क्षेत्र पेशा, व्यवसाय, विद्यार्थी र मजदूर क्षेत्रको छाता संगठनका रूपमा रहेको उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनलाई त्यही उचाईंका साथ भव्य, सभ्य र उच्च संस्कारमा सम्पन्न गरी उदाहरणीय बन्नुपर्ने उनले बताइन् ।

प्रदेश कमिटी अध्यक्ष प्रेमकुमार पराजुलीले प्रथम अधिवेशन भव्यरुपमा सम्पन्न गर्न जनपरिचालनमा जोड दिँदै सभागृहमा हुने उद्घाटनसत्रमा सक्रियता साथ सहभागी हुन कमिटी मातहतका सबै सदस्यहरुलाई आव्हान गरे । ऐतिहासिक अधिवेशन भएकाले सन्देश दिनेगरी काम गर्न पनि उनले आग्रह गरे । १९ गते शुक्रबार हुने उदघाटनसत्रको उदघाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने पनि उनले जानकारी दिए ।

लोगो सार्वजनिक कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला कमिटी इन्चार्जहरू विना श्रेष्ठ, सीता लामा, बालिका गिरी र गोविन्द दुवालको उपस्थिति रहेको थियो । प्रथम अधिवेशनको लोगो प्रदेश कमिटी प्रचार उपसमितिका सदस्य महेन्द्र श्रेष्ठले डिजाइन गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖