शुक्रबार (आज) संसद्को हिउँदे अधिवेशनअन्तर्गतको पहिलो प्रतिनिधिसभा बैठक बस्यो। दिउँसो १ बजे सुरु भएको बैठक चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधको बाबजुद अघि बढ्यो।
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरे। सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकारका उपलब्धिबारे संक्षिप्तमा ब्रिफिङ गरे। त्यस क्रममा उनले सिद्धबाबा सुरुङ ‘ब्रेक थ्रु’लगायतका कामलाई सरकारको उपलब्धि भने। प्रमुख प्रतिपक्षी तथा विपक्षी दलहरूले त्यसको संसद्मै विरोध र आलोचना गरे।
त्यसको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका सांसद डा. स्वर्णिम वाग्ले, राप्रपा सांसद राजेन्द्र लिङ्देन, जसपा नेपालका सांसद राजकिशोर यादव, आजपाका सांसद प्रभु साहलगायतले यसको चर्को विरोध गरे।
यसपछि प्रधानमन्त्री ओलीले सम्बन्धित विषयमा फेसबूकमा विभिन्न इन्फोग्राफिक्स बनाएर साझेदारी गरेका छन्। दिउँसो ३ बजेको समयमा उनको आधिकारिक फेसबूकबाट ‘ब्रेक थ्रु, विकास निर्माणका काममा हामी रोकिनेवाला छैनौँ’ लेखिएको एक इन्फोग्राफिक्स साझेदारी गरिएको छ।
यस्तै साँझ ७ बजेतिर फेरि अर्को इन्फोग्राफिक्स शेयर गरेका छन्। त्यहाँ ‘सरकार अहिले चाहन्छ- थालेको काम सक्ने हो’ लेखिएको छ।-नागरिक
