• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

कञ्चनपुरमा कलौनी मृत फेला प्रकरण: हत्या गरेर फालिएको बुवाको आशंका


  • धनकुटा खबर
  • .

काठमाडौं: कञ्चनपुरमा मृत फेला परेका अच्युत कलौनीका बुवाले छोराको हत्या गरिएको हुनसक्ने आशंका गरेका छन्। मृतक कलौनीका बुवा जनकराजले नेपाली काँग्रेसको भीमदत्त नगर सभापतिसमेत रहेका आफ्ना छोरा अच्युतको हत्या गरेर फालिएको आशंका गरेका हुन्।

उनले आज (शनिबार) महेन्द्रनगर पुगेका गृहमन्त्री रमेश लेखकसँग भेट गर्दै हत्या गरेको हुनसक्ने आशंका गरेको बताइएको छ।

‘घटना कतै भएर फालेको हो कि भन्ने शंका छ,’ कलौनीले गृहमन्त्री लेखकसँग भने, ‘नाम तोक्ने त कसको तोक्ने। राति ३ बजे हिँडेर आएको छ, कसैले, गर्ने (घटना) मान्छेले बोलाएको हो कि ?’

गृहमन्त्री लेखकसँगको कुराकानीमा कलौनीले आफ्नो छोराको शव फेला परेको स्थानमा रहेका घर लामो समयसम्म बाँझो रहेको र घरको बारेमा थाहा हुनेले हत्या गरेर फालेको हुनसक्ने पनि बताए।

अच्युत शनिबार बिहान फेला परेको स्थानमा शीत भए पनि छोराको शरीरमा शीत परेको नदेखिएको पनि कलौनीले गृहमन्त्री लेखकसँग दुःखेसो गरेका छन्। छोराले प्रयोग गर्ने मोबाइल फोन नभेटिनुले पनि थप आशंका उत्पन्न गरेको उनको भनाइ छ।

कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका–१८ को वडा कार्यालय नजिकैको मामाभान्जा चोकस्थित सडक पेटीमा मृत अवस्थामा फेला परेका थिए। उनको शव पोस्टमार्टमका लागि अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।

भोलि उनको पोस्टमार्टम गरिने प्रहरीले जनाएको छ। जसका लागि भेरी अस्पताल, नेपालगञ्जबाट फरेन्सिक विज्ञहरु महेन्द्रनगर पुगेका छन्।

यसैक्रममा सो घटनामा प्रहरीले सूक्ष्म अनुसन्धान थालेको जनाएको छ। प्रहरीले कलौनीको गायब भएको मोबाईल पनि खोजिरहेको छ भने घटनाबारे अनुसन्धान गर्न घटनास्थल र आसपासमा भएको सीसीटीभी फुटेज अध्ययन गर्दैछ।

मृतक कलौनीको शरीरमा भने कुनै चोटपटक छैन। उनी हिजोमात्र धनगढीबाट फर्किएपछि राति घरतर्फ लागेका थिए। त्यसपछि आज बिहान मृत फेला परेका थिए।

नेपाल विद्यार्थी संघबाट राजनीति थालेका कलौनी पछिल्लो समय महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पनि थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖