• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

विवाह भएको २ महिनामै २१ वर्षीया युवतीको हत्या, पति फरार


  • धनकुटा खबर
  • .

विवाह भएको दुई महिनामै महोत्तरीमा २१ वर्षीया युवतीको हत्या भएको छ।

गौशाला नगरपालिका- ८ कि २१ वर्षीया खुश्वु यादवको हत्या भएको अवस्थामा आइतबार शव फेला परेकाे हो। उनको हत्या पति अभिषेक यादवले गरेको आरोप माइती पक्षले लगाएका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ।

‘मृतक युवतीका पति हाल फरार छन्,’ जिप्रका महोत्तरीका डीएसपी सन्तुलाल जैसवालले नेपालखबरसँग भने, ‘हामी उनको खोजी गरिरहेका छौँ। हत्यामा परिवारका अन्य सदस्यको पनि मिलेमतो रहेको आशंका छ।’ उनले अहिलेसम्म कसैलाई पक्राउ भने नगरिएको बताए।

खुश्बुको शव आइतबार दिउँसो गौशाला वडा नम्बर- ५ को एकान्त ठाउँमा रहेको भिसघारीमा फेला परेको हो।

‘घरदेखि केही टाढा रहेको रुख बुट्यान रहेको घारी क्षेत्रमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा उनको शव फेला परेको हो,’ डीएसपी जैसवालले भने, ‘विवाह भएदेखि नै पतिपत्नीबीच झगडा हुँदै आएको स्थानीयले बताएका छन्। दाइजोको निहुँमा हत्या भएको आशंका स्थानीयको छ। हामी अनुसन्धानकै क्रममा छौँ।’

‘धारिलो हतियारले दाहिनेतर्फको कानदेखि नाकसम्म काटिएको अवस्थामा खुश्बुको शव फेला परेको उनले बताए। हतियारले घाँटीको केही भागमा पनि घाउ लागेको प्रहरीले जनाएको छ।

खुश्वुको माइतीघर महोत्तरीकै सम्सी गाउँपालिका- १ पर्सादेवाड हो। स्थानीय लक्ष्मण यादवकी छोरी खुश्बुको गएको मंसिर ७ गते मात्रै गौशाला- ८ बेलगाछीका चन्देश्वर यादवका छोरो अभिषेक यादवसँग मागी विवाह भएको थियो।

उनको शव आइतबारै जलेश्वर अस्पतालमा पोस्टमार्टमपछि माइती पक्षको जिम्मा लगाइएको डीएसपी जैसवालले बताए। ‘उनको शव अस्पतालबाट बुवाले बुझि लगेका छन्। हिजै उनको दाहसंस्कार पनि भइसकेको छ,’ जैसवालले भने, ‘अहिलेसम्म किटानी जाहेरी भने परेको छैन।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖