• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

यौन सम्बन्धको पोल खोलिदिएको निहुँमा ६९ वर्षीय वृद्धको हत्या


  • धनकुटा खबर
  • .

तीन दिनअघि प्युठानको गौमुखी गाउँपालिका- ५ खुङ्का निवासी ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या विवाहेतर सम्बन्धका रहेको जोडीबाट भएको प्रहरी अनुसन्धानले देखाएको छ।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय एक पुरुष र महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गौमुखी गाउँपालिका वडा ५ खालका ५१ वर्षीय लोकबहादुर गिरी र गौमुखी गाउँपालिका वडा ५ गोलढुङ्गाका ५० वर्षीया जेदुकुमारी न्यौपाने छन्। उनीहरु दुवै विवाहित हुन्।

न्याैपानेका छाेराछाेरीकाे विवाह भैसकेकाे छ। उनका पति राेजगारिकाे लागि भारतमा बस्दै आएका प्रहरीले जनाएकाे छ। गिरीका पनि घरमा पत्नी र छाेराछाेरी छन्।

‘उनीहरूलाई घटना भएको २४ घण्टाभित्रमै हामीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका थियौँ,’ जिल्ला प्रहरी कार्यालय, प्युठानका सूचना अधिकारीसमेत रहेको प्रहरी निरीक्षक केशव केसीले नेपालखबरसँग भने, ‘आफूहरूबीचको अवैध यौन सम्बन्धको पोल समाजको अगाडि खोलिदिएको निहुँमा उनीहरूले उपाध्यायको हत्या गरेको बयान प्रहरीलाई दिएका छन्।’

यही माघ १८ गते बिहान करिब साढे ८ बजे गौमुखी गाउँपालिका-५, उपल्लो फुर्सेधारास्थित खुङ्ग-नारिकोट जोड्ने कच्ची सडकको भित्री बाटोमा चिन्तामणि उपाध्ययको शव फेला परेको थियो।

टाउको, अनुहार, नाक, मुखमा समेत गहिरो चोट लागी रगताम्मे भई ढलेको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ।

‘अनुसन्धानको क्रममा उपाध्यायको हत्यामा गिरी र न्यौपानेको संलग्नता पाइएको छ,’ प्रहरी निरीक्षक केसीले भने, ‘हामीले आरोपीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छौँ।’

पक्राउ परेका गिरी र न्यौपानेबीच सम्बन्ध रहेको र उक्त विषय उपाध्यायलाई थाहा भएपछि दुवै जनाले योजनाबद्ध रूपमा हत्या गरेको केसीले बताए। कल डिटेल रिपोर्ट र घटनामा प्रयोग गरिएको भरुवा बन्दुकको बटको आधारमा अनुसन्धान सफल भएको प्रहरी निरीक्षक केसीको भनाइ छ।

घटनास्थलबाट प्रहरीले भरुवा बन्दुक, मोबाइल र सात हजार रुपैयाँ नगद समेत बरामद गरेको छ।

आरोपित दुवै जनालाई प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖