• Monday 5th of October 2026

क्रिकेटमा विश्व कीर्तिमान बनाउने अलराउन्डर ऐरी प्रहरीका जवान


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रहरीले नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई बधाइ तथा धन्यावाद दिएको छ ।

आइतबार प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले क्रिकेटमा विश्वकीर्तिमान राख्न सफल भएको भन्दै ऐरीलाई बधाइ तथा धन्यावाद दिएका हुन् ।

सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म मित्र राष्ट्र चीनमा सञ्चालन भई रहेको १९औं एशियन गेम्समा नेपाल प्रहरीको तर्फबाट पुरुष क्रिकेट, कराँते, महिला फुटबल, टेबल टेनिस, तेक्वान्दो, उसु, जुडो, बक्सिङ, ब्याडमिण्टन, कबड्डी, आर्चरी, महिला भलिबल, पुरुष भलिबल, एथ्लेटिक्स तथा भारोत्तोलन लगायतका खेलहरूमा सहभागी भएका कुल ४७ जना खेलाडीहरू (एक जना अफिसियल सहित) रहेका छन् ।

नेपाल प्रहरीको तर्फबाट राष्ट्रिय पुरुष क्रिकेट टिममा रहेका नेपाल प्रहरीका ५ जना खेलाडीहरूमध्य नेपाल पुलिस क्रिकेट टिमका कप्तान समेत रहेका प्रहरी जवान ऐरीले सन् २०२३ सेप्टेम्बर २७ मा भएको मंगोलियाविरुद्धको खेलमा आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गर्नुका साथै ९ बलमा अर्ध शतक पूरा गरी विश्व रेकर्ड कायम गरेकोमा आईजीपी कुँवरले हार्दिक बधाईसहित समस्त खेलाडीहरूमा सफलताको शुभकामना व्यक्त गरेका छन् ।

उता, नेपाली क्रिकेट टोलीका अलराउन्डर ऐरीले एक लाख रुपियाँ पुरस्कार पाउने भएका छन् । मंगोलियाविरुद्ध विश्व कीर्तिमानी प्रदर्शन गरेसँगै उनी सम्मिलित क्लब लुम्बिनी अल स्टारले उनलाई एक लाख रुपियाँ पुरस्कार दिने भएको हो । टोलीका अन्य खेलाडीले समान १० हजार पाउनेछन् ।

दीपेन्द्रले १९औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा मंगोलियाविरुद्ध दीपेन्द्रले ९ बलमै अर्धशतक प्रहार गरेर विश्व कीर्तिमान कायम गरेका थिए ।

भारतीय ब्याटर युवराज सिंहले २००७ मा टी–२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध १२ बलमै बनाएको अर्धशतकको कीर्तिमान तोडेका हुन् । दीपेन्द्रले १९औं ओभरको अन्तिम पाँच बलमा लगातार पाँच छक्का हानेका थिए ।

२०औं ओभरको दोस्रो बलमा पनि छक्का हान्दै ६ बलमा ६ छक्का हानेका थिए । दीपेन्द्र नेपालबाट ६ बलमा ६ छक्का हान्ने पहिलो खेलाडी हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖