काठमाडौं । टायर पड्किएपछि ७ घण्टादेखि नेपाल वायुसेवा निगमको एउटा वाइडबडी जहाज जापानको नारिता विमानस्थलमै अलपत्र परेको छ ।निगमको आरए ४३४ उडान नम्बरको जहाज नारिताबाट काठमाडौं उडान भर्ने क्रममा टायर पञ्चर भएको निगमले जानकारी दिएको छ ।
वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार जहाजको ह्विलमा प्राविधिक समस्या आएका कारण नारिताबाट काठमाडौंका लागि जहाज उड्न सकेको छैन । प्राविधिक टोलीले आवश्यक मर्मत गरेर जहाज छिट्टै उडान गर्ने तयारी भइरहेको पौडेलले बताए ।
‘जापानको नारिता विमानस्थलबाट विमान उड्नुअघि जहाजको ह्विलमा प्राविधिक समस्या आएको छ,’ उनले भने, ‘प्राविधिक टोलीले जाँच गरेपछि चाँडै विमान उड्ने छ ।’निगम स्रोतका अनुसार समस्या आएको जहाज मर्मतको प्रयास भइरहेको छ ।
विमानमा अतिरिक्त टायर नभएकाले काठमाडौंबाटै पठाउने वा उतै खोज्ने टुंगो लागेको छैन ।‘काठमाडौंबाट टायर लैजान पनि उडान तालिका छैन,’ स्रोतले भन्यो, ‘यात्रुलाई विमानस्थलमै राखिएको छ । चाँडै होटलमा लैजाने तयारी भइरहेको छ ।’जापानबाट स्थानीय समय अनुसार विहान ९ बजेर २५ मिनेटमा उड्नुपर्ने जहाज अहिलेसम्म उडेको छैन ।
जापानमा अहिले ४ बजेको छ ।यो जहाज काठमाडौंमा २ बजेर ५० मिनेटमा आइपुग्ने तालिका थियो ।यस्तै वायुसेवा निगमको एउटा न्यारोबडी जहाज नियमित मर्मत (सिचेक)का लागि चीन उडेको छ । निगमले यसपटक चाइना साउदर्नमा सिचेकका लागि लैजन नेपाल नागरिक उड्डयन प्राधिकरणसँग स्वीकृति मागेको थियो । प्राधिकरणले आइतबार स्वीकृति दिएकोले आज सोमबार एउटा न्यारोबडी सिचेकका लागि चीन उडेको निगमले जानकारी दिएको छ ।
