• Sunday 1st of November 2026

रास्वपा सभापति लामिछानेविरुद्ध चितवनमा पनि मुद्दा दर्ता


  • धनकुटा खबर
  • .

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि मुद्दा दर्ता भएको छ ।मङ्गलवार लामिछानेविरुद्ध चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनले लामिछानेसहित यो प्रकरणमा १५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय चितवनले जानकारी दिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका अनुसार लामिछाने, रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ,नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफ अलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला , शिवबहादुर गुरुङ र प्रगती श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

रविलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अन्य १२ जनालाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनमा यो सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरीको छ ।

यसअघि यही सहकारी ठगी प्रकरण्णमा असोज ८ मा १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भइसकेको थियो । जीबी राईसहित कुमार रम्तेल, सागर केसी, बीरबहादुर रानाभाट, हेमन्त अधिकारी, छत्रमणी भट्टराई, भपेन्द्र राई, अनन्त बाबु राई, आशिष आनन्द, देवेन्द्र बाबु राई, दिनेश रोका, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तीर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

अब चितवन जिल्ला अदालतमा थुनछेक बहस हुनेछ । लामिछानेविरुद्ध पर्साको सानापाइला सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान भइरहेको छ ।यसअघि रवि लामिछाने कास्कीको सूर्य दर्शन सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी र रुपन्देहीको सुप्रिम सहकारीको मुद्दामा धरौटी रकम बुझाएर छुटेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖