• Sunday 1st of November 2026

प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा असन्तुलित अभिव्यक्ति दिएको भन्दै कटाक्ष गरेका छन् । बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले सामाजिक सञ्जालसम्बन्धी विधेयकका सन्दर्भमा प्रचण्डले गरेको टिप्पणीलाई ‘असन्तुलित अभिव्यक्ति’ भन्दै कटाक्ष गरेका हुन् ।

महासचिव पोखरेलले भनेका छन्- ‘सामाजिक संजाल नियमनको आवश्यकता वोध गरेर वर्तमान सरकारले संसदमा दर्ता गरेको विधेयकका सन्दर्भमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभाको बैठकमा दिएको अभिव्यक्ति सुन्दा ६ महिना पहिले प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अहिले विपक्षी दलको नेता रहेका ‘प्रचण्ड’ एउटै हुन् कि फरक हुन् भन्ने गम्भीर आशंका उत्पन्न गराएको छ ।’

उनले विगतमा आफू प्रधानमन्त्री भएका बेलामा प्रचण्डले टिकटक नै बन्द गर्ने निर्णय गरेको स्मरण गराउँदै टिकटक खोल्न अनुमति दिने सरकारलाई अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोवेको आरोप लगाउनु दिउँसै रात पार्नु जस्तै भएको बताएका छन् ।

महासचिव पोखरेलले प्रश्न गरेका छन्, ‘सोसल मिडियाको दुरुपयोग भयो भनेर सोसल मिडिया प्लेटफम नै वन्द गर्दा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने अनि त्यसलाई संचालन गर्न दिएर नियमन गर्न खोज्दा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने हुन्छ र ? अवश्य हुँदैन ।’

यस्तो छ महासचिव पोखरेलको स्टाटस् :

विपक्षी दलका नेताको असन्तुलित अभिव्यक्ति !!

सामाजिक संजाल नियमनको आवश्यकता वोध गरेर वर्तमान सरकारले संसदमा दर्ता गरेको विधेयकका सन्दर्भमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभाको बैठकमा दिएको अभिव्यक्ति सुन्दा ६ महिना पहिले प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अहिले विपक्षी दलको नेता रहेका ‘प्रचण्ड’ एउटै हुन् कि फरक हुन् भन्ने गम्भीर आशंका उत्पन्न गराएको छ ।

विगतमा आफू प्रधानमन्त्री भएका वेलामा दुरुपयोग भयो भनेर टिकटक नै वन्दगर्ने निर्णय गरेका ‘प्रचण्ड’ले टिकटक खोल्न अनुमति दिने सरकारलाई अभिव्यक्ति स्वतन्त्रता कुण्ठितगर्न खोजेको आरोप लगाउनु दिउसै रात पार्नु जस्तै हो ।

सोसल मिडियाको दुरुपयोग भयो भनेर सोसल मिडिया प्लेटफम नै वन्द गर्दा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने अनि त्यसलाई संचालन गर्न दिएर नियमन गर्न खोज्दा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने हुन्छ र ? अवश्य हुदैन ।

तर आफ्नै मान्यताका विपरित पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक संजाल नियमन सम्वन्धी संसदमा दर्ता भएको विचाराधिन विधेयकका सन्दर्भमा दिएको असन्तुलित र विरोधाभाषी अभिव्यक्तिको अन्तर्य के होला ? सत्ता गुमाउदाको छटपटि मात्र कि अरु केही ?

यसमा तपाईको राय..

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖