• Sunday 1st of November 2026

खानेपानी मन्त्री यादवको कार्यकक्षमा भएको आगलागी : दुई कर्मचारीसँग सोधपुछ जारी


  • धनकुटा खबर
  • .

काठमाडौँ । सिंहदरवारस्थित खानेपानी मन्त्रालयमा शनिबार बिहान आकस्मिक रूपमा भएको आगलागी नियन्त्रणमा आएको छ । आगो मन्त्री प्रदीप यादवको कार्यकक्षमा देखिएको थियो। प्रहरी र सेनाको तत्काल प्रयासपछि आगो नियन्त्रणमा लिइएको हो ।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिल बोहराका अनुसार आगलागीबाट केही महत्त्वपूर्ण कागजात जलेको देखिएको छ। ‘मन्त्रीज्यूकै कार्यकक्षमा आगलागी भएको छ। अहिले आगो नियन्त्रण भइसकेको छ, तर केही कागजात जलेका छन्,’ उनले भने ।

आगलागीको कारण अहिलेसम्म स्पष्ट भइसकेको छैन। यद्यपि, घटनालाई शंकास्पद मान्दै अनुसन्धान अघि बढाइएको छ। यसै सन्दर्भमा मन्त्रालयका दुई जना कार्यालय सहयोगीसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार आगलागी कसरी भयो भन्ने विषयमा विभिन्न कोणबाट छानबिन भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा विद्युतीय तार सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ, तर आगलागीको वास्तविक कारण पत्ता लगाउन थप प्रमाण संकलन गर्ने कार्य भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖