• Sunday 1st of November 2026

बजारमा ग्यास अभाव : के भन्छन् व्यवसायी ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । बजारमा ग्यास अभाव भएको गुनासो उपभोक्ताबाट आउन थालेको छ । नियमित किन्ने गरेको ठाउँमा बिक्रेताले खालिहात पठाउने गरेका उपभोक्ताहरूले बताउन थालेका छन् ।

बिहीबार व्यवसायीहरूले पत्रकार सम्मेलन गर्दै ग्यास आयात नगर्ने चेतावनी दिएसँगै डिलरहरूमा ग्यास पाइन छाडेको हो ।

उनीहरूले माघ ३० गते नेपाल आयल निगमबाट वस्तु डेलिभरी, अर्डर तथा खरिद नगर्ने पनि बताएका थिए । साथै फागुन १ देखि ५ गतेसम्म सबै ग्यास उद्योगले विरोधका कार्यक्रमबारे प्रचारप्रसार गर्ने, ६ गतेदेखि भारतीय आयल निगम (आईओसी) बाटोमा ग्यास बुलेट लोड गर्न नदिने कार्यक्रमको तयारी गरिएको छ ।

यसैगरी १२ गते ग्यास लोड भएर आएका कुनै पनि बुलेटहरू भन्सार नाकाबाट छुट्न नदिने, १८ गतेदेखि सबै एलपी ग्यास उद्योग बन्द गर्ने र २२ गते देशभरका ग्यास बिक्रेता डिपोहरू बन्द गराउने जानकारी दिएका थिए ।

यसकै प्रभावका कारण डिपोहरूमा ग्यास पाइन छाडेको हो । तर, नेपाल ग्यास बिक्रेता महासंघका निवर्तमान अध्यक्ष चन्द्र थापा ग्यास व्यवसायीहरूले ग्यास आयात तथा बिक्री नरोकेको बताउँछन् । ‘अहिले होइन १ गतेबाट भन्ने छ तर १५ दिनसम्म ग्यास आउँछ । आत्तिनुपर्ने अवस्था छैन ।’ तर अहिले ग्यास नआएको भने भन्न नमिल्ने उनले बताए ।

बन्दको घोषणा भएपछि उपभोक्तामा अन्योलता सिर्जना भएर डिलरमा चाप भने बढेको हुन सक्ने उनले बताए ।

ग्यास व्यवसायीहरूको सञ्चालन खर्च बढेको कारण काम गर्न नसक्ने अवस्था सिर्जना भएपछि सरकारको ध्यानाकर्षण गराउन पत्रकार सम्मेलनमार्फत बन्दको घोषणा गरेको थियो ।

कतै कुनै व्यवसायीले बन्दको नाममा ग्यास स्टक राखेर उपभोक्तालाई दुःख दिने मनाशायले गल्ती गर्छन् भने कडाभन्दा कडा कारबाहीको दायरामा ल्याइने उनले बताए । ‘गएको दसैँदेखि ग्यास कम आयात भएको र त्यसको असर हो । बन्दको घोषणापछि उपभोक्ताको भीड डिलरमा लाग्न थालेको छ । अत्यावश्यक वस्तुमा बन्द हुनुहुँदैन । वार्ता र छलफलबाट यसको समस्या समाधान गरिनु पर्छ,’ उनले भने ।

व्यवसायीका जायज मागलाई सरकार र निगमले सम्बोधन गरिनुपर्ने उनको तर्क छ ।

नेपाल आयल निगमले पनि ग्यास अभाव नभएको बताएको छ । निगमका प्रवक्ता मनोज ठाकुरले अहिले पहिलाकै तुलनामा ग्यास आयात भइरहेको बताए । ‘पहिला जति आयात परिमाण थियो, त्यति नै आयात भएको छ,’ उनले भने, ‘एक जनाले तीन वटासम्म ग्यास राख्न थालेकाले अभाव भएको हुन सक्छ ।’

व्यवसायीहरूको मागका विषयमा छलफल भइरहेको र छिटै समस्या समाधान हुने उनले आश्वस्त पारे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖