• Monday 5th of October 2026

भोलि नेपालसँग भिड्न लागेको भारतीय क्रिकेट टिम कस्तो हो?


  • धनकुटा खबर
  • .

हाङझाउ एसियाली खेलकुदअन्तर्गत पुरूष क्रिकेटको क्वार्टरफाइनलमा भोलि नेपाल र भारतबीच खेल हुँदैछ।

नेपाल समूह ‘ए’ को विजेता हुँदै अन्तिम आठमा पुगेको हो। भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान भने वरीयताका आधारमा सिधा अन्तिम आठमा पुगेका थिए। आज ड्रमार्फत् अन्तिम आठमा भिड्ने टिमको टुंगो लाग्दा नेपालको भेट भारतसँग हुने पक्का भएको हो।
नेपालले भोलि प्रतिस्पर्धा गर्न लागेको भारतको टिम सिनियर क्रिकेट टिम भने होइन। तर भारतको एसियाली खेलकुदको क्रिकेट टिममा आइपिएल स्टारको जमघट छ। अधिकांश खेलाडीले भारतीय टिमबाट डेब्यू गरिसकेका छन्। युवा खेलाडीले भरिपूर्ण भारतीय क्रिकेट टिमविरूद्धको खेल नेपाली राष्ट्रिय टिमका लागि चुनौतीपूर्ण हुनेछ।

रुतुराज गायकवाड एसियाली खेलकुदमा भारतीय टिमको कप्तान छन्। गायकवाड आइपिएल टिम चेन्नई सुपरकिंग्समा उत्कृष्ट प्रदर्शन गरेसँगै भारतको राष्ट्रिय टिममा परेका थिए। उनले भारतको राष्ट्रिय टिमबाट चार एकदिवसीय खेल र ११ टी-२० खेल खेलिसकेका छन्। गत वर्ष दक्षिण अफ्रिकाविरूद्धको खेलबाट एकदिवसीय खेलमा डेब्यू गरेका उनले दुई वर्षअघि श्रीलंकासँग खेलेर टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए।
यस्तै, टिममा रहेका अर्का ब्याट्सम्यान यशस्वी जैसवालले दुई महिनाअघि वेस्ट इन्डिजविरूद्ध भारतीय टिमबाट टेस्टमा डेब्यू गरेका थिए। आइपिएलमा राजस्थान रोयल्सबाट खेल्ने उनले भारतीय टिमबाट ५ वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्।

आइपिएल २०२३ मा चेन्नई सुपर किंग्सको मिडल अर्डर ब्याटिङको मेरूदण्ड बनेका शिवम दुबे पनि भारतीय टिममा छन्।

आइपिएल २०२३ मा उत्कृष्ट प्रदर्शन गरेपछि रिंकु सिंहले आयरल्यान्डविरूद्ध राष्ट्रिय टिममा डेब्यू गरेका थिए। उनलाई एसियाली खेलकुदका लागि पनि भारतीय टिममा स्थान दिइएको छ।

आइपिएलको राम्रो प्रदर्शनका कारण विकेटकिपर ब्याट्सम्यान जितेश शर्मा र प्रभसिमरन सिंह टिममा छन्।

राष्ट्रिय टिमबाट ३३ टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका तीव्र बलर अर्शदिप सिंह र १५ खेल खेलेका अर्का तीव्र गतिका आवेश खान पनि टिममा छन्। अर्का बलर रवि बिश्नोईले पनि भारतीय टिमबाट १३ टी-२० र एकदिवसीय खेल खेलिसकेका छन्।

अलराउन्डर वासिङ्टन सुन्दरले भारतका लागि तीनै फर्म्याटको खेल खेलिसकेका छन्। अर्का अलराउन्डर तिलक बर्माले यसै वर्ष भारतको टी-२० र एकदिवसीय खेलमा डेब्यू गरेका थिए।

एसियाली खेलकुदका लागि भारतीय टोली:
रुतुराज गायकवाड (कप्तान), यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकीपर), वाशिंगटन सुन्दर, शाहबाज अहमद, रवि बिश्नोई, आवेश खान, अर्शदीप सिंह, मुकेश कुमार, शिवम मावी, शिवम दुबे र प्रभसिमरन सिंह (विकेटकिपर)।

-सीताराम कोइराला/सेतोपाटी

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖