• Sunday 1st of November 2026

ओली संसद् विघटन गर्ने गृहकार्यमा छन् : पुन


  • धनकुटा खबर
  • .

भोजपुर । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्री केपी ओलीले कुनै पनि बेला संसद् भंग गरेर मध्यावधि निर्वाचन घोषणाको गृहकार्यमा रहेको आरोप लगाएका छन् । माओवादी केन्द्र भोजपुरको अरुण गाउँपालिकाको दोस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै पुनले ओलीबाट लोकतान्त्रिक प्रणाली र लोकतन्त्रमाथि जहिले पनि खतरा रहेको बताएका हुन् ।

पुनले प्रमुख सत्तारुढ घटक कांग्रेस नेताहरूलाई ओलीको सम्भावित अलोकतान्त्रिक कदमप्रति सचेत गराए । विगतमा पनि संसद् भंग गरेको उदाहरण दिँदै उनले आफूले त्यतिबेला गरेको संसद् विघटन सही थियो भन्ने पुष्टि गर्ने प्रयास ओलीबाट हुने दाबी गरे । त्यसैको पूर्वअभ्यासका रूपमा ओलीले अध्यादेशबाट शासन चलाउने प्रयास गरिरहेको टिप्पणी पुनको छ ।

‘ओलीजीलाई लोकतान्त्रिक प्रणाली र संसद्जस्ता लोकतान्त्रिक संस्थाहरू मन पर्दैन’, पुनले भने, ‘विगतमा गरेको संसद् विघटनलाई हामीले सडकबाट असफल पारेका थियौँ । उहाँको मनमा अहिले पनि आफ्नो पुरानो कदम सही पुष्टि गर्नुपर्छ भन्ने सोच छ । यसमा सचेत रहन म काँग्रेस नेताहरूलाई आग्रह गर्न चाहन्छु । उहाँले फेरि संसद् विघटन गरेर मुलुकलाई मध्यावधिमा धकेल्ने दुस्साहस गर्नुहुनेछ, यसमा सचेत रहनुस् ।’

कुण्ठा र बदला भावबाट ग्रस्त ओली निरंकुश, स्वेच्छाचारी र व्यक्तिवादी चरित्रको नेता भएको आरोप पुनले लगाए ।

कांग्रेस समर्थनमा आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रोसँग सरकार चलाइरहेका बेला ओलीले पटकपटक भेटेर नेकपाको एकता टुटाउनु आफ्नो कमजोरी भएको स्वीकार गर्दै दुई पार्टी मिल्न अनुनय विनय गरेपछि कांग्रेस छाडेर एमालेसँग सहकार्य भएको पुनले उल्लेख गरे । तर, सरकार बनेको केही महिनामै ओलीले धोका दिएको उनको भनाइ छ ।

‘६ महिनासम्म लगातार हाम्रो अध्यक्षलाई भेटेर ओलीजीले एमाले र माओवादी नमिल्ने हो भने ०८४ को निर्वचनपछि हाम्रो हालत ३५ वर्षसम्म शासन गरेको पश्चिम बंगालको कम्युनिस्ट पार्टीको हुन्छ मिलौँ भन्नुभयो’, पुनले भने, ‘कांग्रससँग कुनै मतभेद पनि थिएन । सरकार राम्रैसँग चलिरहेको थियो । ओलीजीले गल्ती महसुस गरेर मिलौँ भन्नुभएको भए ठिकै छ । जनता पनि त्यही चाहन्छन् भनेर हामी मिलेका हौँ । तर, उहाँले धोका दिनुभयो । ओलीजी कतिबेला प्रतिशोध साधौँ भनेर बस्नुभएको रहेछ ।’

पुनले भुटानी शरणार्थी प्रकरणका अनुसन्धान अघि बढेपछि रातारात कांग्रेस र एमाले मिलेको आरोप दोहोर्‍याए । पछिल्लो समय सरकारका गतिविधिले यो सरकार बिचौलिया, भ्रष्टाचारी र राज्य दोहनमा संलग्नलाई संरक्षण गर्न बनेको पुष्टि भइरहेको उनले बताए । मानव तस्करीको नियतले युवालाई जापान लैजाने कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिने र पैसा बुझाएर उनीसँगै जापान जानेहरूलाई थुन्ने काम हुनुले काँग्रेस र एमाले कस्तो न्यायको पक्षमा छन् भन्ने स्पष्ट हुने पुनले बताए ।

यस्तै काठमाडौँको सहकारी ठगीमा संलग्न काँग्रेस सांसदलाई मुद्दा चलाउनु नपर्ने निर्णय गर्नु र पोखरामा सहकारी ठगीमा मुछिएका एमाले नेतालाई सरकारी साक्षी बनाइनुले पनि सरकारको नियत छर्लङ्ग हुने पुनले उल्लेख गरे । पुनले मानव तस्करी, सहकारी ठगी र राज्य दोहनमा अहिले मुद्दा नचलाउने निर्णय गरिएकाहरूका फाइल आफूहरू सरकारमा आएपछि खोलिने चेतावनी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖