• Sunday 1st of November 2026

ओडिशामा नेपाली छात्रा प्रकृति लम्साल मृत्यु प्रकरण : पूर्व प्रेमीमै दुर्व्यवहारका कारण आत्महत्याको आशंका, प्रहरीले थाल्यो अनुसन्धान


  • धनकुटा खबर
  • .

भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालले मानसिक तनावका कारण आत्महत्या गरेको आशंका गरिएको छ।

घटनामा उनका पूर्वप्रेमी अद्विक श्रीवास्तवको संलग्नता रहेको भारतीय संचारमाध्यले जनाएको छ। प्रकृतिको निधनपछि सामाजिक सञ्जालमा एक अडियो क्लिप सार्वजनिक भएको थियो, जसमा श्रीवास्तवले उनलाई निरन्तर गालीगलौज गर्दै दुर्व्यवहार गरिरहेको सुन्न सकिन्छ।

अडियोमा प्रकृति पटक–पटक रुँदै आफ्नो पीडा व्यक्त गरिरहेकी छन्, तर श्रीवास्तवले कुनै संवेदनशीलता देखाएका छैन्।

प्रकृतिका साथीहरूले उनी श्रीवास्तवसँग तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेको तर सो सम्बन्धमा उनले निरन्तर मानसिक र शारीरिक यातना सहनुपरेको बताएका छन्। श्रीवास्तवको उग्र स्वभावका कारण उनी तनावमा रहेको उनीहरू बताउँछन्।

भारतीय सञ्चारमाध्यमका अनुसार, प्रकृतिले आत्महत्या गर्नु एक महिना अघि नै विश्वविद्यालय प्रशासनसँग आफ्नो पीडा सुनाएकी थिइन्। अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा उनले उजुरी दिएको तर प्रशासनले उचित कारबाही नगरेको बताइएको छ। लगातार सहयोगको याचना गरे पनि विश्वविद्यालय प्रशासनले बेवास्ता गरेपछि उनी झन् तनावमा परेकी थिइन्।

भुवनेश्वर प्रहरी उपायुक्त पिनाक मिश्राले घटनाका प्रमाण संकलन भई अनुसन्धान अघि बढिरहेको बताएका छन्।

‘विद्यार्थीहरूको मागअनुसार, हामीले सबै प्रमाणहरू जफत गरिसकेका छौँ। मोबाइल फोन, ल्यापटप लगायतका सामग्री नियन्त्रणमा लिइएको छ ताकि कुनै प्रमाण नष्ट हुन नदिन सकियोस्। प्रहरी टोलीले विद्यार्थीहरू र विश्वविद्यालय प्रशासनको कुरा सुनेको छ। पोस्टमार्टम रिपोर्टपछि थप अनुसन्धान अघि बढाइनेछ,’ उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖