काठमाडौ । भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा शङ्कास्पद अवस्थामा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालका बुवा सुनिलले आफूहरूलाई न्याय चाहिएको बताएका छन् ।
भारतीय समाचार संस्था एएनआईसँग कुराकानी गर्दै उनले आफूहरूले यस घटनापछि न्याय मात्रै खोजेको बताएका हुन् । ‘तपाईँको माग के हो?’ भन्ने पत्रकारको प्रश्नमा लम्साल भन्छन्, ‘हाम्रो डिमान्ड जस्टिस हो, जस्टिस मात्रै !’ आफूसँग कलेज र प्रहरी प्रशासनले समन्वय गरिरहेको पनि बताएका छन् । उनले आफूलाई घटनाबारे अर्का छोराले जानकारी गराएको पनि बताएका छन् ।
‘युनिभर्सिटीसँग हिजो कुरा भएको थियो । उनीहरूले आधिकारिक रूपमा केही भनेनन् । तर समन्वय गरिरहेका छन् । यहाँको प्रशासन र कलेजले पनि समन्वय गरिरहेको छ । भाइ पनि यहीँ पढ्थ्यो, उनैले फोन गरेर तुरुन्त आउनुपर्यो भनेका थिए । त्यसपछि हामी आएका हौँ,’ उनले भने ।
त्यस्तै अनुसन्धानका लागि प्रहरीले प्रकृतिको मोबाइल, डायरी, ल्यापटप लगेर फरेन्सिक जाँच गराएको र अहिले पोस्टमार्टम भइरहेको पनि उनले बताए । ‘हामीसँग यति मात्रै सूचना छ कि दुर्व्यवहार र इमोशनल ब्ल्याकमेलिङ गरेकाले उसले आत्महत्या गरेकी हुन् । हामीलाई यति मात्रै थाहा छ, अन्य कुरा केही पनि थाहा छैन,’ उनले भने, ‘एक जनालाई पक्राउ गरेको छ । अहिलेसम्म उसकै कारणले भएको भनिएको छ, अनुसन्धान भइरहेको छ ।’
उक्त घटनापछि कलेज प्रशासनले नेपाली विद्यार्थीहरूलाई फिर्ता जान भनेको विषयमा पनि आफूले थाहा पाएको र त्यसो गर्नु उचित नहुने पनि उनले बताए । सोही कलेजमा अध्ययन गर्ने प्रकृतिका दाइ पर्ने सिद्धान्त सिग्देलले घटनापछि उनलाई फोन गरेका थिए । खबर पाउनासाथ आफू तुरुन्तै हिँडेको लम्सालले बताए । ‘उसको दाइ पनि यहीं पढ्छ । उसले फोन गरेर छिटो आउनुस् भन्यो । डेथ भएको भनेर चाहिँ भनेन । आउनुस् मात्र भन्यो । हामी निस्किहाल्यौँ । अस्ति साँझ ५ बजे चाहिँ मृत्यु भइसकेको भनेर थाहा भयो ।’
