• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

आज नेपाल ल्याइंदै प्रकृति लम्सालको शव


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टलमा मा मृत भेटिएकी प्रकृति लम्सालको शव आज घर ल्याउने तयारी भइरहेको छ । शव नेपाल ल्याउनका लागि भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय भइरहेको उनका आफन्तले जनाएका छन् ।

आज साँझसम्म ल्याइपुर्‍याउने कुरा भएको प्रकृतिकी फुपू सीता ढकालले जानकारी दिएकी छन् । प्रकृतिको शङ्कास्पद मृत्यु भएको खबरपछि बुबा सुनिल लम्साल ओडिसा पुगेका छन् । उनले मंगलबार प्रहरी अधिकारीहरुसँग भेटेर आफूहरुलाई न्याय चाहिएको बताएका थिए ।
गत आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत भेटिएकी थिइन् । साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन, कुटपिट गर्दै होस्टलबाट निकालिदिएको थियो ।

चर्को आलोचनापछि विश्वविद्यालय प्रशासनले केही कर्मचारीलाई बर्खास्त गरेको छ भने केहीलाई निलम्बन गरेको छ । नेपाली विद्यार्थीलाई धम्क्याएको विश्वविद्यालय र प्राध्यापक मन्जुशा पाण्डेले पनि माफी मागेकी छन् ।

प्रकृतिको मृत्युबारे ओडिसाको विधानसभामा समेत प्रश्न उठेको थियो । ओडिसा सरकारले नै यो घटनाको छानबिनका लागि उच्चस्तरीय समिति बनाएको छ ।

प्रकृतिलाई ब्ल्याकमेल गरेको आरोप लागेका अड्विक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेर न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । श्रीवास्तवले पटक–पटक यातना दिएको विषय प्रमाणसहित उजुरी दिंदा पनि कलेजले लापरबाही गर्दा प्रकृतिले मृत्युवरण गर्नु परेको भन्दै केआईआईटीको आलोचना भएको छ । कलेजले उल्टो पीडकलाई नै साथ दिएको आरोप छ ।

यो घटनालाई लिएर नेपाल र भारतका विद्यार्थी आन्दोलित भइरहेका छन् भने संसदमा पनि प्रश्न उठेको छ। तीन दिनअघि त्यहाँस्थित करिब १५ सय नेपाली विद्यार्थीलाई कलेज नै छाडेर जान त्यहाँका कर्मचारीले निर्देशन दिएपछि अधिकांश नेपाली विद्यार्थी नेपाल फर्केका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖