• Monday 5th of October 2026

साम्बालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिने


  • धनकुटा खबर
  • .

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार-२०८१ बाट पुरस्कृत गरिने भएको छ ।

सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभाशाली नागरिकलाई प्रदान गर्ने पुरस्कार अन्तर्गत विभिन्न विधाका १० जना पुरस्कृत हुँदा खेलकुदबाट साम्बा पुरस्कृत हुने भएकी हुन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा उक्त पुरस्कारको घोषणा गरिएको हो । पुरस्कार प्रदान भने विशेष समारोहमाझ गरिनेछ ।

नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान रचेकी साम्बाले पछिल्लो समय युरोपमा फुटबल खेल्दै आएकी छिन् । हाल फ्रान्सको शीर्ष डिभिजन क्लब एन अभान्ट ग्वेंगाम्पमा आवद्ध उनले गत सिजन इजरायलको हापोएल रानानामा खेलेकी थिइन् ।

साम्बाले भारतको शीर्ष डिभिजन लिगमा पनि सर्वाधिक गोलकर्ता बन्दै २ पटक उपाधि जितिसकेकी छिन् । उनी करिअरको सुरुवातमै नेपाल एपिएफ क्लबबाट पनि नेपालको लिग च्याम्पियन बनिसकेकी छिन् ।

साम्बासँगै प्रतिभा पुरस्कार प्राप्त गर्नेमा टेलिमेडिसिन क्षेत्रतर्फ डा छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा.विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ आभाष मास्के (काठमाडौँ) र हरिराम श्रेष्ठ (गोरखा) , चिकित्सा क्षेत्रतर्फ डा.ओम मूर्ति अनिल (महोत्तरी), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), मानवसेवा तथा समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौँ) र रामजी अधिकारी (गोरखा) पुरस्कृत हुने भएका छन् ।

२०७५ सालमा मन्त्रीपरिषदले स्थापना गरेको यस पुरस्कारबाट प्रत्येक वर्ष दुई प्रतिभालाई जनही पाँच लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय भएको थियो । त्यसै अनुरुप २०७६ सालमा पहिलोपटक दुई विधाका तीन प्रतिभालाई पुरस्कार प्रदान गरिएको थियो । त्यसपश्चात् कोरोना महामारीका कारण पुरस्कार वितरण हुन सकेको थिएन ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖