• Wednesday 7th of October 2026

बलात्कार आरोप लागेका ६८ वर्षीय भोजबहादुरको बयान- लमीले भेटाएपछि लिभिङ टुगेदरमा थियौं


  • धनकुटा खबर
  • .

काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका ६८ वर्षे कानून व्यवसायी भोजबहादुर केसीले जाहेरवालासँग आफू लिभिङ टुगेदरमा रहेको दाबी गरेका छन् ।

सरकारी वकिलसँगको बयानमा केसीले श्रीमतीको मृत्यु भएपछि लमीमार्फत चिनजान भएकी जाहेरवालालाई आफूले कोठा खोजेर थानकोटमा राखेको बताएका छन् । जाहेरवालाले भनेअनुसारको काम नगरेकाले आफूविरुद्ध बलात्कारको आरोप लगाएको केसीको दाबी छ ।

केसीका अनुसार तीन वर्षअघि एक राष्ट्रिय दैनिकमा आफूले बुढेसकालको सहाराका लागि ४०/४५ वर्षको महिला विवाहको चाहिएको छ भनेर विज्ञापन हालेका थिए । त्यसपछि विनोद चन्द नाम गरेका लमीले आफूलाई सम्पर्क गरी जाहेरवालासँग भेटाएको उनको बयान छ ।

श्रीमान्‌को मृत्यु भइसकेकी जाहेरवालासँग सबै कुरा मिलाएर विवाह गर्ने सर्तसहित थानकोटमा आफैँले डेरा खोजेर उनको एक सन्तानको समेत लालनपालन गर्दै आएको केसीको दाबी छ । यता जाहेरवालाले पनि जाहेरीमा चन्दमार्फत केसीसँग भेट भएको र उनैले कोठा खोज्नसम्म सहयोग गरेको उल्लेख गरेकी छिन् । भविष्यमा मन मिलेमा विवाह गर्ने सर्त आफूले राखेको र कोठामा दिउँसोको समयमा कहिलेकहीँ आउने गरेको स्वीकारेकी छिन्।

बानी व्यहोरा मन परेमा विवाह गर्ने आफ्नो सोच रहेको भएपनि विस्तारै प्रतिवादी मन नपरेकाले आफू उनीसँग विवाह नगर्ने मनस्थितिमा पुगेको उनले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ । केसीले शारीरिक र मानसिक यातना दिनुका साथै जबर्जस्ती शारीरिक सम्बन्ध राखेको जाहेरवालाको आरोप छ ।

यता केसीले ६ महिनाअघि जाहेरवाला अन्य व्यक्तिहरूसँग पनि प्रेम सम्बन्धमा रहेको थाहा पाएकाले बारम्बार सम्झाउँदा पनि नमानेको र नमानेपछि आफूले दिएका सबै गरगहना फिर्ता मागेको बयान दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖