• Wednesday 7th of October 2026

ढकाल – केन्द्रको घेराबन्दीमा परेर चुनाव हारेँ


  • धनकुटा खबर
  • .

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कोसी प्रदेश कमिटी अध्यक्षमा पराजित भएका विनोद ढकालले नेतृत्व चयन गर्दा पार्टीको मूल सिद्धान्तविपरीत आफूलाई घेराबन्दी गरिएको आरोप लगाएका छन् ।

विराटनगरको पाञ्चालीस्थित एमाले पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरी ढकालले पार्टीको विधानको भावनाविपरीत केन्द्रीय नेतृत्वले अमूक उमेदवारको पक्षमा लागेर कार्यकर्तालाई डर, त्रासमा पारेर भोट माग्ने र अर्को उमेदवारलाई तिरस्कार गरेको व्यवहार देखिएको बताए ।

“स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यहरुले नै खुलेआम रुपमा अमूक उमेदवारको पक्षमा भोट माग्नुभयो,” उनले भने, “अर्को उमेदवारलाई घेराबन्दी गर्ने काममा नियोजित रुपमा लागेको मात्र होइन, आफूखुसी गरिरहेको त्यो कर्ममा पार्टी अध्यक्ष केपी ओलीको समेत नाम जोडेर प्रचारबाजी गरियो ।”

ढकालले यस्तो कार्यबाट पार्टी अध्यक्ष जस्तो संस्थालाई समेत विवादमा पार्ने काम भएको सुनाए । आफूले जीवनमा धेरै चुनौतीहरुको सामना गरेको बताउँदै ढकालले पार्टी संकटमा परेका बेला एकीकृत बनाइराख्न दिल दिमाग लगाएर काम गरेको बताए ।

उनले भने, “पञ्चायतविरोधी आन्दोलनको रापतापबाट राजनीतिक जीवन सुरु गरेको मैले पार्टीले दिएको सबै जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राखिनँ ।” आफूले चुनावको परिणामलाई सहर्ष स्वीकार गरेको र आगामी दिनमा नवनिर्वाचित नेतृत्वलाई सम्पूर्ण सहयोग गर्ने पनि बताए ।

पार्टीका अध्यक्ष ओली र विद्या भण्डारीबीच विवाद छ भन्ने प्रचार गलत भएको भन्दै उनले एमालेमा कुनै लाइन नरहेको दाबी गरे । भने, “सञ्चारमाध्यममा मैले पनि देखेँ, नेताहरुलाई जोडेर विषयवस्तु आए । तर, पार्टीभित्र त्यस्तो लाइन छैन ।”

आफूले अध्यक्ष ओलीसँग भेटघाट गर्दा नेतृत्वमा नउठ्नुहोस् नभनेको बताउँदै उनले आफूले त्यसपछि चुनावी तयारी थालेको बताए ।

कोसी प्रदेश कमिटीको निर्वाचनमा ढकाल घनश्याम खतिवडासँग पराजित भएका थिए । सर्वसम्मत गर्न प्रयास गरिए पनि ढकालले खतिवडालाई नेतृत्व छाड्न नमानेपछि चुनाव भएको थियो । खतिवडाको पक्षमा केन्द्रीय नेतृत्व नै लागेका कारण ढकाल पराजित बनेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖