• Wednesday 7th of October 2026

विश्वविद्यालयमा विद्यार्थी राजनीति बन्द गर्नुपर्ने देखियो : शिशिर खनाल


  • धनकुटा खबर
  • .

१८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले विश्वविद्यालयलाई विद्यार्थी राजनीतिबाट मुक्त राख्नुपर्ने देखिएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले पुल्चोक क्याम्पसमा विद्यार्थी संगठनका नेताले प्राध्यापकहरुलाई धम्क्याएर र अपहरण गरेर शुल्क घटाउन लगाएको घटनाले यसलाई पुष्टि गरेको उनले बताए ।

उच्च शिक्षामा राज्यको निकै कम लगानी रहेको भन्दै सांसद खनालले यदि कम शुल्कमा गुणस्तरीय शिक्षा लिने हो भने राज्यको लगानी बढाउन विद्यार्थी संगठनले दबाब दिनुपर्ने बताए ।

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले २०५५ सालमा इन्जिनियरिङको स्नातक तहको चार वर्र्षे कार्यक्रमका लागि ३ लाख १८ हजार शुल्क तोकेको थियो । त्यसयता शुल्क वृद्धि नभएको भन्दै सांसद खनालले सोधे, ‘अहिले ३ लाख १८ हजार रुपैयाँ तिरेर गुणस्तरीय इन्जिनियरिङ पढाउन सकिन्छ कि सकिँदैन ?’

उनले भने, ‘यदि सकिदैन भने जो विद्यार्थी आन्दोलनमा छन्, उनीहरुले त्यहाँका प्राध्यापकलाई धम्क्याउने हो कि आफ्नो दलका नेतालाई हो ?’

तीस वर्ष भन्दा बढी समयदेखि सरकारको नेतृत्व गरिरहेका दलका विद्यार्थी युनियन पुल्चोक क्याम्पसमा रहेको र उनीहरुले नै प्राध्यापकलाई शुल्क नबढाउन धम्क्याएको भन्दै सांसद खनालले आफ्ना नेतालाई धम्क्याउन सुझाव दिए ।

‘प्राध्यापकलाई धम्क्याएर, अपकरण गरेर फि नबढा भन्ने हो कि आफ्नो नेतालाई घरघरमा गएर शिक्षामा राज्यको लगानी पुगेन भनेर धम्क्याउने हो, उहाँहरुको हर्कतले त्रिवि लगायत सम्पूर्ण विश्वविद्यालयमा विद्यार्थी राजनीति पूर्ण रुपमा बन्द गर्नुपर्छ भन्ने देखिएको छ । हाम्रा विश्वविद्यालय सबै खालको राजनीतिबाट मुक्त गर्नुपर्छ’, उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖