• Thursday 29th of October 2026

सुमना ‘एक व्यक्ति, एक पद’ भन्दै राजीनामा दिने, रास्वपा दोहोरो जिम्मेवारी हुने गरी इन्चार्ज तोक्ने


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहमहामन्त्री सुमना श्रेष्ठले ‘एक व्यक्ति, एक पद’को नीति सम्झाउँदै पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिइन्।

यसबारे राजीनामा पत्रमा उनले लामै व्याख्या गरेकी छन्। ‘पदको लालसा नेपालका पुराना पार्टी र अझ भन्नुपर्दा नेपाली समाजमै गढेको एक प्रथा हो। सङ्घीय सांसद हुँदा मैले पार्टीको अर्को महत्त्वपूर्ण जिम्मेवारी लिदाँ पद नभई केही गर्न सकिन्न भन्ने सन्देश जान्छ, जुनसँग मेरो गहिरो विमति छ। अन्य पार्टीभन्दा हामी भिन्न भन्ने तर, रवैया उस्तै रहने मेरो लागि स्वीकार्य छैन,’ उनले भनेकी छन्।

उनले थप भनेकी छन्, ‘एक व्यक्तिले दुई पूर्णकालीन जिम्मेवारीलाई न्याय गर्न सक्दैन, सङ्घीय सांसदले मूलभूत रूपमा पेस भएका विधेयकहरूको अध्ययन गर्ने, सरोकारवालाहरूसँग छलफल गर्ने, आवश्यक संशोधन पेस गर्ने, समसामियक विषयलाई सदनमा उठान गर्ने र समाजलाई उन्नत बनाउने भाष्य निर्माण र मुद्दाहरू स्थापित गर्नुपर्ने हुन्छ। यसका बाहेक शिक्षा, सूचना, प्रविधि संसदीय समितिको भूमिका त छँदैछ। पार्टीको सहमहामन्त्रीको रूपमा पार्टी सङ्गठन निर्माणलगायत पार्टीको विधि निर्माण र कार्यान्वयन गर्न जति समय चाहिन्छ, त्यो सांसदका रूपमा काम गर्न मानवीय हिसाबले सम्भव छैन।’

सांसद र सहमहामन्त्री दुबै पद पूर्णकालीन भएको उल्लेख गर्दै उनले दुबै जिम्मेवारीमा एक व्यक्तिबाट एकसाथ काम हुन नसक्ने बताएकी छन्। ‘दुबै जिम्मेवारी एकै व्यक्तिलाई दिँदा दुबै तर्फको जिम्मेवारी पूरा गर्न नसक्ने मेरो अनुभवले बताउँछ। संसदीय भूमिकामा नै मेरो सम्पूर्ण समय व्यतित हुन्छ, सहमहामन्त्रीले गर्नुपर्ने काम प्रभावकारी हुन नसकेको मेरो ठम्याइ छ,’ उनले भनेकी छन्।

‘एक व्यक्ति, एक पद’को नीति सम्झाउँदै सुमनाले दुई हप्ता अगाडि नै पार्टी सभापति रवि लामिछानेलाई राजीनामा दिएकी थिइन्। तर, अहिले लामिछाने थुनामा छन्। पार्टी सभापति लामिछाने थुनामा गएपछि आफूले आफ्नो राजीनामा रोक्न चाहेको तर, आज एकाएक सार्वजनिक गरेर पार्टीकै कतिपय नेताहरूले ‘मिडिया ट्रायल’ गरेको आरोप सुमनाको छ।

‘दुई हप्ता अगाडि पार्टी सभापति यहीँ हामीसँगै हुनुहुन्थ्यो, मैले त्यहीबेला राजीनामा दिएकी हुँ, त्यो पनि पार्टी सभापतिसँगैको सल्लाहमा। एक/दुई दिनपछि पार्टी सभापति पक्राउ पर्नुभएपछि कार्यवाहक सभापति डीपीजीलाई रोकौँ है भनेको थिएँ,’ उनले भनेकी छन्।

उनको राजीनामाबारे बिहीबार (आज) कार्यवाहक सभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय समितिमा बैठकमा छलफलसमेत भएको छ। त्यसमा अब बस्ने बैठकमा आवश्यक छलफल र निर्णय हुने कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जानकारी गराएका छन्।

तर, रोचकचाहिँ के भने सुमनाले ‘एक पद, एक व्यक्ति’को नीति सम्झाउँदै दिएको राजीनामाबारे छलफल भएकै बैठकले दोहोरो जिम्मेवारी पर्नेगरी पार्टीका ६ नेतालाई प्रदेश इन्चार्ज तोकेको छ। जसमा कोशी प्रदेशका लागि सन्तोष परियार तोकिएका छन्। जो पार्टीका तर्फबाट प्रमुख सचेतक (सांसद) नै हुन्।

यस्तै मधेस प्रदेशका लागि मनीष झा तोकिएका छन्। उनी सांसद त हुन् नै, सँगै पार्टीका कार्यवाहक प्रवक्तासमेत हुन्। बागमती प्रदेशका इन्चार्ज तोकिएकी लीमा अधिकारी भने केन्द्रीय सदस्य मात्रै हुन्। गण्डकी प्रदेशका इन्चार्ज तोकिएका शिशिर खनाल पनि सांसद हुन्। लुम्बिनी प्रदेशका लागि इन्चार्ज तोकिएका विपिनकुमार आचार्य पार्टी सहमहामन्त्री हुन्।

यस्तै कर्णाली प्रदेशका लागि तोकिएका गणेश पराजुली र सुदूरपश्चिम प्रदेशका लागि तोकिएका हरि ढकाल पनि सांसद नै हुन्। यसरी रास्वपाले ६ नेतालाई दोहोरो जिम्मेवारी हुनेगरी इन्चार्ज तोकेको छ।

यसबारे राखिएको जिज्ञासामा कार्यवाहक प्रवक्ताले अभियान र कार्यक्रम छुटाएर हेर्नुपर्ने जवाफ दिए। ‘जनयात्रा अभियान हो, त्यो चार महिनामा सकिन्छ। हाम्रो इन्चार्जको काम पनि मूलत: महाधिवेशनसम्मका लागि हो। तोकिएको समयमा महाधिवेशन जसरी पनि गर्नुपर्छ भन्ने हो र त्यसकै लागि इन्चार्ज तोकिएका हुन्। हामी इन्चार्जको अबको १० महिना तीन दिनपछि काम सकिन्छ। सुमना श्रेष्ठज्यूको प्रश्न चाहिँ निरन्तर रहने पदमा हो,’ उनले भने।-नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖