• Thursday 29th of October 2026

ओली सरकारलाई कांग्रेसबाटै खतरा…


  • धनकुटा खबर
  • .

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो इशारामा नचाएर नेपाली कांग्रेसले राज्यका महत्वपूर्ण निकायहरुमा आफ्ना विश्वासपात्रलाई स्थापित गर्ने प्रयास गरिरहेको छ।

यसअघि नेपाल प्रहरीको आइजीपीमा आफ्नो कोटाबाट नियुक्ति गरिसकेको नेपाली कांग्रेसले नेपाल राष्ट्र बैंकको गभर्नर समेत आफ्नै कोटाबाट नियुक्ति गर्ने प्रयास गरिरहेको छ।

यसबाहेक सशस्त्र प्रहरी महानिरीक्षकको पदावधि पनि सकिने लागेको छ। नयाँ सशस्त्र प्रहरी प्रमुखको नियुक्तिमा पनि आफू अनुकूल पात्रलाई अगाडि बढाउने कांग्रेसको तयारी छ।

नेपाल प्रहरीमा समेत एआइजी बढुवा गर्नुपर्ने छ। प्रहरीमा ६ एआइजी पद रिक्त छ र यो बढुवामा पनि कांग्रेसले आफू अनुकूल वातावरण बनाउने प्रयास गरिरहेको स्रोत बताउँछ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारमा रहन सघाइरहेको भए पनि कांग्रेसकै प्रभावशाली नेताहरुले उनको निरन्तर आलोचना गरिरहेका छन्। पार्टी सभापतिले सत्तामा रहन सघाइरहने आश्वासन दिइरहने तर पार्टीकै अन्य प्रभावशाली नेताहरुले निरन्तर आलोचना गरिरहने वातावरण बनाएर कांग्रेसले ओलीलाई प्रधानमन्त्री पदबाट जुनसुकै बेला हटाइन सक्ने त्रासमा राखिरहेको छ।

र, यही त्रासको आडमा ओलीबाटै आफू अनुकूल निर्णय गराउने कांग्रेसको रणनीति रहेको स्रोत बताउँछ। प्रधानमन्त्री ओली अहिले कांग्रेसका मागहरु मान्ने वा पद त्याग्नेमध्ये एक विकल्प रोज्नुपनर्जे अप्ठ्यारो अवस्थामा छन्।

ओलीको यही अप्ठ्यारोको फाइदा उठाउन कांग्रेसले उनलाई आफू अनुकूल प्रयोग गरिरहेको छ। कांग्रेसले ओलीको साथ छाड्नासाथ कांग्रेसलाई सरकार बनाउन समर्थन गर्न माओवादी तयार भएर बसेको छ।

आफ्ना सभापति रवि लामिछानेलाई ओली नेतृत्वको सरकारले नै दुःख दिइरहेको विश्लेषण गरेको रास्वपा पनि कांग्रेसको सरकारमा जाने सम्भावना उच्च देखिएपछि ओली सत्ताबाट जुनसुकै बेला हटाइन सक्ने त्रासमा छन्।

बुधबार प्रधानमन्त्री ओलीले सरकारका काम कारवाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन कांग्रेस र एमालेका नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका थिए। यो बैठकमा राष्ट्र बैंकको कभर्नरको नियुक्तिको विषय पनि प्राथमिकतामा थियो। तर, संयन्त्रका संयोजक कांग्रेस नेता पूर्णबहादुर खड्का र सदस्य रहेका कांग्रेस महामन्त्री गगन थापा बैठकमा अनुपस्थित भएपछि बैठकमा मुख्य एजेण्डामा औपचारिक छलफल नै भएन।

भोलिपल्टै कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र मन्त्रीहरुसहितको बैठक बोलाएका छन्। बिहीबार सभापतिले यसरी पदाधिकारी र मन्त्रीहरुलाई साथमा बैठकबा बोलाउनुले बुधबारको बैठकमा कांग्रेस नेताहरु असमर्थ भएर नगएको नभइ जानाजान नगएको संकेत गर्छ। बुधबार महामन्त्री गगन थापाले पनि आफू असमर्थ भएको जानकारी दिएका थिएनन्, बरु फोन अफ गरेर बसेका थिए।

स्रोतका अनुसार बुधबार प्रधानमन्त्रीले बोलाएको बैठकमा गभर्नर नियुक्तिको विषयमा छलफल हुने एजेण्डा थियो। तर, कांग्रेसभित्र आन्तरिक रुपमै यस विषयमा छलफल भइसकेको थिएन ।

पार्टीमा आन्तरिक छलफल नै नगरी एकैचोटी संयन्त्रको बैठकमा यस विषयमा कुरा गर्दा कुरा बाझिन सक्ने भएकोले कांग्रेस नेताहरु चलाखीपूर्ण तरिकाले बैठकमा गएनन् । लगत्तै बिहीबार यस विषयमा पार्टीमा छलफल गर्ने उद्देश्यले कांग्रेसका पदाधिकारी र मन्त्रीहरु देउवा निवास बुढानीलकण्ठमा जम्मा भएको स्रोतको दावी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖