नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कसको विरुद्ध मानिस सडकमा ल्याउने भन्दै प्रश्न गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले दुई महिनाभित्र दुई लाख मानिस सडकमा जम्मा गर्ने अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाएका छन् ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–४ को क्षेत्रीय सम्मेलनलाई बिहीवार मायादेवी गाउँपालिका–६ स्थित बेथरीमा सम्बोधन गर्दै डा. कोइरालाले भने, ‘प्रचण्ड पार्टीको अध्यक्ष मात्र भएको भए मैले यो कुरा स्वीकार्थें, तर उहाँ तपाई हाम्रो प्रधानमन्त्री पनि हुनुहुन्छ । देशको प्रधानमन्त्रीले कसको विरुद्ध मानिस सडकमा ल्याउने ?’
प्रधानमन्त्री प्रचण्डले २०८४ मा माओवादीलाई जिताउ जातीय राज्य दिन्छु भनेको भन्दै उनले आपत्ति व्यक्त गरे । उनले भने, ‘हामी जातीय राज्यमा जान सक्दैनौं । नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक मुलुक हो । यहाँ कुनै जातजातिको बाहुल्यता छैन । पहिला पनि मुलुकलाई जातीय राज्यमा लग्न खोजेकै हुन् । तर सकेनन् ।’
उनले मुलुकमा अराजकताको पराकाष्ठाले सीमा नाघेको बताए । कांग्रेस ९ मन्त्रालयसहित सरकारमा रहे पनि संसदीय व्यवस्थामा प्रधानमन्त्रीले जे भन्यो त्यही हुने उनको भनाइ छ ।
नेता कोइरालाले मुलुकको विकासका लागि कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेकोमा भन्दै वर्तमान सरकार सच्चिनुपर्नेमा जोड दिए ।
उनले २०८२ मंसिरभित्र कांग्रेसको महाधिवेशन हुने गरी लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे । उनले सभापति पदमा पराजित भए पनि पार्टी सभापतिसँग आफ्नो सौहादपूर्ण सम्बन्ध रहेको बताए ।
