काठमाडौं । बारम्बार विवादमा परिरहने नेकपा एमालेका नेता महेश बस्नेतले शिक्षामन्त्रीबाट सोमबार राजीनामा दिएकी आफ्नै पार्टीकी नेतृ विद्या भट्टराईको कार्यक्षमता नभएको टिप्पणी गरेका छन् ।
भट्टराईको राजीनामापछि सामाजिक सञ्जालमा लेख्दै बस्नेतले भट्टराई मन्त्री भएदेखि नै उनको कार्यसम्पादनमा कमजोरी रहेको र कार्यशैलीप्रति जनगुनासो व्यापक रहेको दावी गरेका छन् । बस्नेत प्रधानमन्त्री केपी ओलीका खास विश्वासपात्र मानिन्छन् ।
बस्नेतले लेखेका छन्– शिक्षामन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलन नटुङ्गिएपछि राजीनामा दिनु भएको छ । आन्दोलन नटुंगिनु शिक्षक महासंघ सँग बार्ता गर्न नसक्नु र त्यसको असर स्वरूप मन्त्रीको राजीनामा आउनु स्वयं मन्त्री कै कमजोरीको संकेत हो । मन्त्री भएको बेला देखिनै उनको कार्य सम्पादनमा कमजोरी रहेको, कार्यशैलीप्रति जनगुनासो ब्यापक बढेकै थियो। अबको चुनौती भनेको शिक्षा क्षेत्रलाई स्थायित्व दिने, शिक्षकहरूको मागलाई सम्बोधन गर्ने र शिक्षा नीति सुधार गर्ने नेतृत्व छनोट गर्नु पर्दछ।
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने, आफूहरुलाई स्थानीय तहअन्तर्गत राख्न नहुने जस्ता माग राख्दै विगत २० दिनदेखि आन्दोलनरत शिक्षकहरुको आन्दोलन झन चर्किँदै गएको बेला शिक्षामन्त्रीको राजीनामा आएको हो । यस राजीनामाले सरकार झन दबाबमा परेको छ ।
