• Thursday 29th of October 2026

कसैलाई हिरासतमा थुनेर जनताको निराशा हटाउन सकिन्न : जनार्दन शर्मा


  • धनकुटा खबर
  • .

रुकुम पश्चिम । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले केही व्यक्तिहरूलाई हिरासतमा थुनेर जनतामा छाएको निराशा हटाउन नसकिने टिप्पणी गरेका छन् । रुकुम पश्चिमको आठविसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाका विभिन्न स्थानमा आयोजित जनभेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

राजावादी आन्दोलनप्रति टिप्पणी गर्दै शर्माले सरकारले राम्रो काम गर्न नसक्दा जनतामा उत्पन्न भएको आक्रोशको अभिव्यक्ति मात्र भएको टिप्पणी गरे । ‘वर्तमान सरकार, ठुला राजनैतिक दल र नेताहरूले राम्रो काम गर्न नसक्दा जनतामा निराशा र आक्रोश उत्पन्न भएको छ । त्यसलाई रोक्ने उपाय भनेको आफूलाई सुधारेर जनताका असन्तुष्टि संशोधन गर्ने हो ।’ उनले भने ‘कसैलाई हिरासतमा थुन्नु समस्याको समाधान हैन ।’

सरकार परिवर्तनको भद्दा खेल, कुर्सीको तानातान, भ्रष्टाचार र बेरोजगारीको समस्याले जनतामा वितृष्णा जागेकोले राजावादीहरू हौसिएको उनको भनाइ छ । राजनैतिक दल र नेताहरूले गम्भीर समीक्षा गरेर आफूलाई सुधार्ने हो भने राजावादी नामको आन्दोलन स्वतः निष्क्रिय हुने उनको तर्क छ ।

उपमहासचिव शर्माले वर्तमान ओली सरकारलाई पहलकदमी गुमाएको सरकारको संज्ञा दिए । शिक्षक आन्दोलनको माग सम्बोधन गरेर शिक्षकहरूलाई कार्यक्षेत्रमा फर्काउन नसक्ने, शैक्षिक सुधारको लागि कुनै आशाजनक काम गर्न नसक्ने, रोजगारी सृजनाको लागि सिन्को नभाँच्ने सरकारी रवैयाको कारण देशमा अराजकता मौलाएको नेता शर्माको भनाइ छ ।

जनभेटघाट कार्यक्रमको लागि बाँफिकोटका वडा नम्बर ६ र ७ तथा आठविसकोटका वडा नम्बर १,२,३ मा जनतासँग भेटघाट र अन्तरक्रियामा सहभागी हुन वैशाख ७ गते रुकुम पश्चिम पुगेका नेता प्रभाकर त्रिवेणी र मुसिकोटका विभिन्न कार्यक्रममा सरिक हुँदै संघीय संसद अधिवेशनका लागि वैशाख १२ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको माओवादीका जिल्ला संयोजक सचिन रोकाले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖