काठमाडौँ । पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ। पाकिस्तानी सेनाको जनसम्पर्क विभागले दिल्लीले तीन पाकिस्तानी एयरबेसमा मिसाइल प्रहार गरेको आरोप लगाउँदै भारतविरुद्ध प्रतिआक्रमण सुरु गरिएको बताएको छ।
पाकिस्तानले प्रत्याक्रमणको नाम ‘अपरेसन बानयन मर्सस’ राखेको छ। यस अघि भारतले आफ्नो भूमिमा पाकिस्तानले आक्रमण गरेको आरोप लगाए पनि पाकिस्तानले भने आफूले घोषणा गरेर मात्र आक्रमण सुरु गर्ने बताएको थियो।
पाकिस्तानको यो घोषणा लगत्तै भारत प्रशासित कश्मीरको उधमपुरको डिब्बर क्षेत्रमा विस्फोट भएको बताइएको छ । त्यस क्षेत्रमा लगातार खतराको साइरन बज्न थालेको छ ।
प्रत्याक्रमणको घोषणासँगै पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शनिबार स्थानीय समयानुसार बिहान ३ः१५ बजेदेखि दिउँसो १२ बजेसम्म आफ्नो वायुसीमा बन्द गर्ने निर्णय गरेको छ ।
भारतको जम्मू–कश्मीर क्षेत्रमा शुक्रबार साँझ पनि गोलाबारी भएको थियो । कुपवाडा, करनाह, तंगधार, उरी र पुंछमा रातभर गोलाबारी भएको बताइएको छ । यद्यपि भारतले पाकिस्तानको यो घोषणाप्रति कुनै प्रतिक्रिया दिएको छैन ।
नयाँ दिल्ली । भारतका विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानद्वारा ‘भारतको पूर्वाधारमा आक्रमण’ गरेको भन्ने दाबीलाई ‘झूटो’ भनेका छन् ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘भारतको महत्वपूर्ण पूर्वाधार, ऊर्जा प्रणाली, साइबर प्रणाली आदिमा ठूलो मात्रामा आक्रमण गरी नष्ट गरिएको दाबी पूर्णतया गलत छ।’
विदेश सचिव विक्रम मिश्रीले भने, ‘म तपाईंहरू सबैलाई अपील गर्दछु, कृपया पाकिस्तान सरकारले फैलाएको गलत कथाबाट भ्रमित नहुनुहोस्। पाकिस्तानी अधिकारीहरूले भारतले श्री अमृतसर साहिबतर्फ मिसाइल प्रहार गरेको भन्ने हास्यास्पद दाबी पनि गरिरहेका छन्। भारतलाई विभाजन गर्ने यी कमजोर प्रयासहरू असफल हुने निश्चित छ।’
वासिङ्टन डिसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतका विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानी सेना प्रमुख जनरल असीम मुनीरसँग कुरा गरेका छन्।
भारतका विदेशमन्त्री जयशंकरले आफ्नो एक्स अकाउन्टमा मार्को रुबियोसँगको कुराकानीको बारेमा जानकारी दिएका छन् । उनले भने, ‘आज बिहान मैले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग कुराकानी गरेँ। भारतको अडान सधैँ संयम र जिम्मेवार रहेको छ र भविष्यमा पनि यस्तै रहनेछ।’
यससँगै अमेरिकाले जयशंकरसँगको वार्ताबारे विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग कुरा गरेका छन्। विदेशमन्त्री रुबियोले दुवै पक्षले एकअर्कासँग प्रत्यक्ष कुराकानी गर्ने तरिकाहरू खोज्नुपर्नेमा जोड दिएका छन्, ताकि तनाव कम होस् र कुनै भ्रम नहोस्।’
नयाँ दिल्ली । कर्नेल सोफिया कुरेशीले शनिबार एक पत्रकार सम्मेलन गर्दै शुक्रबार र शनिबारको मध्यरातमा पाकिस्तानसँगको सीमामा भएको सैन्य कारबाहीबारे जानकारी दिएकी छन् ।
उनले भनिन्, ‘पाकिस्तानी सेनाले पश्चिमी मोर्चाभरि आक्रामक गतिविधिहरू जारी राखेको छ। नियन्त्रण रेखामा ड्रोन घुसपैठ र भारी हतियारबाट गोलाबारी भएको छ। श्रीनगरदेखि नालियासम्म २६ स्थानमा हवाई घुसपैठको प्रयास गरिएको थियो, जसमध्ये धेरैजसोलाई विफल पारिएको थियो।’
कर्नेल कुरेशीका अनुसार पाकिस्तानले उधमपुर, भुज, पठानकोट, भटिंडा र आदमपुर सैन्य एयरबेसमा रहेका उपकरणहरूलाई क्षति पुर्याएको छ। बिहान १:४० बजे पञ्जाबको सैन्य अड्डामा उच्च गतिको क्षेप्यास्त्र प्रहार गरिएको उनले बताइन् । भारतले यो क्षेप्यास्त्रलाई निष्क्रिय पारेको कर्नेल कुरेशीको दाबी छ।
नयाँ दिल्ली । भारतीय सेनाले शुक्रबार र शनिबारको मध्यरातमा पाकिस्तानले आफ्नो पश्चिमी सिमानामा आक्रमण गरेको बताएको छ। भारतीय सेनाको अतिरिक्त जनसूचना महानिर्देशनालयले पश्चिमी सीमामा पाकिस्तानबाट ड्रोन र अन्य हतियारहरू प्रयोग गरेर आक्रमण भइरहेको बताएको हो।
जारी गरिएको विज्ञप्तिमा भनिएको छ , ‘आज बिहान ५ बजे अमृतसरको खासा क्यान्टमाथि धेरै सशस्त्र ड्रोनहरू उडिरहेको देखिएको थियो। हाम्रो वायु रक्षा प्रणालीले तिनीहरूलाई विफल पारेको छ। भारतको सार्वभौमसत्ता उल्लङ्घन गर्ने र आफ्ना नागरिकहरूलाई खतरामा पार्ने पाकिस्तानको प्रयास स्वीकार्य हुन सक्दैन।’
भारतले गत बुधबार पाकिस्तानमा क्षेप्यास्त्र आक्रमण गर्यो । दुई हप्ता अघि विवादास्पद कश्मीर क्षेत्र अन्तर्गत भारतको नियन्त्रणमा रहेको कश्मीरको भूभागमा भयानक आतङ्ककारी हमला भएको थियो । आपसमा प्रतिद्वन्द्वी रहेका भारत र पाकिस्तानबिच यो हमलाले थप आक्रामकता बढायो ।
यही हमलाको केही समयपछि भारतले पाकिस्तानमा क्षेप्यास्त्र प्रहार गरेको हो । पाकिस्तानी अधिकारीहरूका अनुसार ३० जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । साथै पाकिस्तानले ‘आफैँले रोजेको स्थान र समयमा’ यसको जबाफ फर्काउने घोषणासमेत गरेको छ ।
भारतले अप्रिल २२ मा कश्मीरमा भएको हमलाको बदला लिएको बताएको छ । कश्मीरमा भएको हमलामा दुई दर्जनभन्दा धेरै सर्वसाधारण मारिएका थिए । मारिनेहरूमा अधिकांश हिन्दु पर्यटक थिए । भारतका अनुसार त्यो हमलाका पछाडि पाकिस्तानको हात छ । पाकिस्तानले भने पटक–पटक भारतीय दाबीको खण्डन गर्दै आएको छ ।
जम्मू । जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पाकिस्तानबाट भएको गोलाबारीमा एक अधिकारीको मृत्यु भएको बताएका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत यो जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, ‘राजौरीबाट दुखद खबर ! हामीले जम्मू कश्मीर प्रशासनिक सेवाका एक समर्पित अधिकारी गुमाएका छौँ। हिजो मात्र उनी उपमुख्यमन्त्रीसँग जिल्लामा थिए र मेरो अध्यक्षतामा भएको अनलाइन बैठकमा भाग लिएका थिए ।’
उमर अब्दुल्लाहका अनुसार राजौरी सहरमा पाकिस्तान तर्फबाट गोलाबारी भइरहेको छ। उनले लेखेका छन्, ‘आज पाकिस्तानले गरेको गोलाबारीबाट राजौरी सहरलाई निशाना बनाइएको थियो। यस क्रममा अतिरिक्त जिल्ला विकास आयुक्त राजकुमार थापाको घर निशाना बनाइयो । आक्रमणमा उनको मृत्यु भयो।’
काठमाडौँ । जी-सेभेन देशहरूले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न र एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन्। यो अपिल दुई देशबिच तनाव बढिरहेको बेला आएको हो।
क्यानडाले जारी गरेको विज्ञप्तिमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका, बेलायत र युरोपेली संघका विदेश मन्त्रीहरूले २२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। यसका साथै, जी-सेभेन देशहरूले भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन आग्रह गरेका छन्।
जी-सेभेनको विज्ञप्तिमा भनिएको छ, ‘हामी चाहन्छौँ दुवै देशले एकअर्कासँग कुरा गरून् र तनाव बढाउनुको सट्टा शान्तिपूर्ण समाधानतर्फ अघि बढुन्।’
काठमाडौँ । भारत–पाकिस्तानबिचको तनाव तीव्र भइरहेका बेला पाकिस्तानले सञ्चालन गरेको ‘अपरेशन बुनयान-उन-मरसूस’ अन्तर्गत भारतका विभिन्न प्रमुख पूर्वाधार र सैन्य संरचनाहरूलाई निशाना बनाइएको दाबी गरिएको छ।
पाकिस्तानी राज्य सञ्चालित मिडिया र सुरक्षा स्रोतहरूका अनुसार निम्नलिखित स्थानहरूमा आक्रमण भएको बताइएको छ:
तर पाकिस्तानले दाबी गरेको यो कारवाहीबारे भारत सरकारले आधिकारिक प्रतिक्रिया जनाएको छैन । डनन्युज
काठमाडौँ । भारत र पाकिस्तानबिचको सैन्य तनाव चुलिँदै जाँदा दुवै देशले आफ्नो हवाई क्षेत्र तथा विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेका छन्।
स्थानीय समय अनुसार राति करिब ३:१५ बजे पाकिस्तानका तीन वटा हवाई बेसमा भारतीय वायुसेनाले हमला गरेको दाबी पाकिस्तानी पक्षले गरेको केही समयपछि पाकिस्तानको विमानस्थल प्राधिकरणले आफ्नो हवाई क्षेत्र बिहान १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।
यसैबिच केही क्षणअघि भारतको विमानस्थल प्राधिकरणले पनि उत्तरी र पश्चिमी क्षेत्रका ३२ वटा विमानस्थलहरू १५ मे बिहानसम्मका लागि बन्द गरिने घोषणा गरेको छ। दुवै देशका एयर स्पेस बन्द हुँदा हवाई यातायातमा व्यापक असर पर्ने अनुमान गरिएको छ। बीबीसी
काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले राष्ट्रिय कमान्ड प्राधिकरणको बैठक बोलाएका छन् । भारतविरुद्ध ‘अपरेसन बानयन मर्सस’ सुरु गरे लगत्तै उनले प्राधिकरणको बैठक बोलाएका हुन् ।
राष्ट्रिय कमान्ड प्राधिकरण पाकिस्तानको सर्वोच्च निकाय हो जसले देशको आणविक हतियारको उत्पादन, नियन्त्रण, सुरक्षा र प्रयोगको निरीक्षण गर्दछ।
यो प्राधिकरण २००० मा स्थापित भएको थियो। यसको उद्देश्य आणविक हतियारहरू कडा र व्यवस्थित रूपमा प्रयोग गरिएको सुनिश्चित गर्नु थियो।
