• Wednesday 7th of October 2026

हिक्मतले २ मतको जोहो गरे राप्रपाले विश्वासको मत दिने, नत्र तटस्थ बस्ने


  • धनकुटा खबर
  • .

काठमाडौं,१९ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिने भएका छन् ।

गत भदौ २२ गते सवोच्चको परमामदेशले संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको हैसियतमा कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । भदौ ४ गते तत्कालीन मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत सर्वोच्चको पूर्ण इजलासले खारेज गरेपछि हिक्मत मुख्यमन्त्री बनेका थिए ।

संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीमा नियुक्त भएपछि ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ । संविधानको त्यहि बाध्यकारी व्यवस्था अनुसार कार्कीले शनिबार विश्वासको मत नि लागेका हुन् ।

विश्सासको मत पाउने संभावना न्यून

शनिबार विश्वासको मत लिन लागेका कार्कीले विश्वासको मत पाउने सम्भावन भने ज्यादै न्यून देखिन्छ । ९३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन ४७ सांसदको समर्थन आवश्यक पर्ने हुन्छ । हाल सत्ताको नेतृत्व गरिरहेको दल एमालेसँग उपसभामुख सिर्जना दनुवारसहित ४० सांसद रहेका छन् । हाल प्रदेश सभामा सभामुख पद रिक्त रहेको छ । सभामुख नभएको अवस्थामा प्रदेश सभाको बैठक उपसभामुख दनुवारले नै गरिरहेको हुँदा उनले विश्वासको मत दिन पाउँदिनन् । उनले विश्वासको मत दिन नमिल्ने हुँदा उनको पक्षमा ३९ जनामात्रै सांसद हुने देखिन्छ ।

४ दलको एउटै स्वर, हिक्मतलाई विश्वासको मत दिँदैनौ

विश्वासको मत लिने तयारी गरेका कार्कीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र , जसपा र नेकपा एसले भने विश्वासको मत नदिने भएका छन् । कांग्रेसले त संसदीय दलको बैठकबाटै निर्णय गराईसकेको छ भने, अन्य दलले पनि विश्वासको मत नदिने रणनीति लिएका छन् । ‘कांग्रेससहितको हाम्रो गठबन्धनको सरकार ढाल्न हात धोएर लाग्ने एमाले र उहाँहरुको नेताले नेतृतव गरिरहेको सरकारलाई विश्वासको मत दिन सक्दैनौं’ । माओवादी केन्द्रका एक सांसद भन्छन् । उता जसपा र नेकपा एसले पनि विश्वासको मत नदिने निश्चित जस्तै भईसकेको छ । एक सांसद रहेको जसपाबाट उद्धव थापा नेतृत्वको तत्कालीन सरकरामा स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएकी निर्मला लिम्बू त झन हिक्मत सरकार ढल्नेमा पूर्ण विश्वासका साथ अझैसम्म मन्त्री क्वार्टरमै रहेकी छन् । उनी हिक्मत सरकार ढलेर नयाँ बन्ने अर्को सरकारमा पनि पुनः मन्त्रीबन्ने दाउमा छिन् ।

राप्रपा अझै पर्ख र हेरमा

प्रदेश सभामा निर्णायक भूमिकामा रहेको राप्रपाले भने कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिने नदिने निर्णय गर्ने जिम्मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ । राप्रपाले भोलि बिहानसम्ममा निर्णय लिने बताईएको छ । राप्रपाले कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिँदा उनले विश्वासको मत पाउने आधार खोजेको छ । अर्थात ६ सिट रहेको राप्रपाले विश्वासको मत दिँदापनि कार्कीलाई २ मत पुग्दैन । यहि कार्की नेतृत्वको सरकारले दुईमतको जोहो गर्न सकेमा राप्रपाले मत दिने मनसाय बनाएको छ ।

‘हामी एमालेकै साथमा छौं। विश्वासको मत नदिने भन्ने कुरा छैन। तर, हामीले मात्रै सघाउँदा पनि विश्वासको मत जुट्दैन,’ राप्रपाका एक नेता भन्छन्, ‘एमालेले अन्तबाट पनि वातावरण बनाउन सक्यो भने हामी मत दिन्छौं। नत्र तटस्थ बस्छौं। एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिने कि नदिने भन्ने टुंगो शनिबार मात्रै लाग्छ।’

कोशी प्रदेशमा राप्रपाले स्थायित्व खोजेको राप्रका नेताहरु बताउँछन्। ‘प्रदेशको राजनीतिक स्थायित्वका लागि हामी तयार छौं,’ राप्रपाका ती नेता भन्छन्,‘प्रदेशलाई मध्यावधिमा लैजान हुँदैन भन्ने हाम्रो चाहना हो।’

शनिबार कार्कीले विश्वासको मत नपाएमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार बन्नेछ । उक्त उपधाराबाट बनेको सरकारले पनि विश्वासको मत नपाएमा प्रदेश सभा भंग भएर मध्यावधि निर्वाचनमा जानुपर्ने हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖