• Wednesday 7th of October 2026

विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयतिर भन्दा त्रिभुवन विमानस्थलतिर जान रहर हुन्छ: गगन थापा


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाली कांग्रेसका सांसद गगन थापाले विद्यालय शिक्षा विधेयक कानुन बन्ने बेलासम्म संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गर्न सक्ने खालको हुनुपर्ने बताएका छन्।

शुक्रबार प्रतिनिधि सभामा विद्यालय शिक्षा विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले विज्ञान र गणित सिकाइमा गहिरो संकट रहेको बताए।

‘कक्षा १ मा १०० जना विद्यार्थी भर्ना हुन्छ। १२ कक्षा पुग्दा ३० जनामात्रै विद्यार्थी बाँकी रहन्छ,’ उनले भने, ‘विद्यार्थी टिक्दैन। हाम्रो पाठ्यक्रमका आधारमा सिकाइ विज्ञान र गणितको २८ मात्र छ। अंग्रेजीको २५ मात्रै छ। अर्थात् जो विद्यार्थी टिक्छ उसले सिक्दैन। नसिकेको हुनाले विक्दैन। विद्यालय पढिसकेको विद्यार्थी त्रिभुवन विश्वविद्यालयतिर जान्छु भन्ने होइन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर जान्छु भन्ने रहर हुन्छ।’
उनले त्रिवि जान प्रेरणा नभएको पनि बताए।

‘५० जनाभन्दा कम विद्यार्थी भएको विद्यालय ६ हजारभन्दा बढी छ। विद्यार्थी र शिक्षक सम्पूर्ण रूपमा पुगेको विद्यालय ६ सय पनि पुग्दैन,’ उनले भने। अपेक्षा र अवस्था दुवै नहेरिकन विधेयक आएको उनले बताए।

उनले शिक्षा विधेयक छलफलका लागि अब समितिमा जाने उनले बताए।
‘हतार नगरिकन काम गर्नुपर्नेछ। दुई महिना वा पाँच महिना लागोस्। साथीहरूले जनतामा लैजाने भन्नुभएको छ, समितिले पनि त्यो काम गर्न सक्छ,’ उनले भने, ‘सबै सरोकारवाला बोलाउन र छलफल गर्न सक्छ। विद्यार्थीलाई केन्द्रमा राखेर उल्टो भएको विधेयकलाई हामीले सुल्टो बनाउनुपर्नेछ।’

उनले शिक्षण पेशालाई मर्यादित र आकर्षित बनाउनुपर्ने पनि बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖