इजरायल–इरान तनाव चुलिँदो छ । साइरन बज्छ, आकाश चिरिँदै रकेट झर्छ। मानौँ मृ’त्यु आफैँ आकाशबाट झर्दैछ। तर इजरायलका ती गल्लीहरूमा, हजारौँ नेपालीहरू बंकरभित्र बसेर मात्र डराइरहेका छैनन्-उनीहरू बाँच्छन्, कमाउँछन्, र नेपालका घरभित्र उज्यालो बालिरहेका छन्।
फर्किने कुरा गर्छन् कहिलेकाहीं-तर त्यो केवल युद्ध हुँदा, क्षणिककालागि मात्र । किनभने नेपाल सम्झँदा आउँछ बेरोजगारी, अस्थिरता, अनि पुनः विदेशिनुपर्ने चक्रव्यूह। ‘फर्किनु पर्छ’ भन्ने आवाजले मन थर्काउँछ, तर यथार्थ भन्छ-‘फर्केर के गर्ने?’ नेपालमा रोजगारी छैन, सुनिश्चित भविष्य छैन, देशप्रतिको माया त छ तर पेट खाली भएर देश बाँधिँदैन।
यहाँ त कम्तीमा काम छ, तलब छ, सम्मान छ-र संकटमा पनि सुरक्षा छ। संकटको बेला बंकर खुल्छ, सरकार चेतावनी दिन्छ, राज्यको साथ छ, अनि आशाको टेको छ। र तपाईंलाई ‘मान्छे’ भनेर व्यवहार गरिन्छ।
यता –महिनाको दुई लाख रुपैयाँ बराबरको कमाइ छ, जसले घरको छानो टालिएको छ, छोराछोरीको किताब किनिएको छ, र बूढा बाबुआमाको औषधि किन्न मिलेको छ। ऋण तिर्नु छ, घर बनाउनु छ, छोराछोरी पढाउनु छ-त्यसैले उनीहरू युद्धभन्दा कमाइको जोखिम रोज्छन्।
नेपाल फर्केपछि के छ र? बेरोजगारी, अस्थिरता र पुनः विदेशिनु पर्ने नियति। बरु यहाँ, बंकरभित्र भए पनि ‘सेफ’ महसुस हुन्छ।
“डर त छ, तर अभावभन्दा कम डर। यहाँ यु’द्धको जोखिम छ, तर नेपालमा जीवन नै अनिश्चित छ।” त्यसैले उनीहरू भन्छन्-“गोलाको आवाज त सहन्छौं, तर अभावको आवाज फेरि सुन्न सक्दैनौं।”
यहाँ त कमसेकम यु’द्ध छ, तर अवसर पनि छ।
त्यहाँ न युद्ध छ, न शान्ति। न रोजगारी छ, न सम्मान।
त्यसैले उनीहरू भन्छन्-
“जीवनको जोखिम उठाउँछौं, तर सपनाको ह’त्या गरिदैन।
यहाँ हामी डराउँछौं-तर बाँच्छौं।
नेपालमा त हामी बाँचिरहेका जस्तो देखिन्छौं, तर भित्रभित्रै मरेका हुन्छौं।”
