काठमाडौँ । मान्छेको जीवनमा विशेष दिन हो जन्मदिन । तर यही दिनमा उसको मर्ने सम्भावना बढी हुन्छ ? यो प्रश्न तपाईंलाई बेकार वा बेतुकको लाग्न सक्छ । तर यो वैज्ञानिकहरूको लागि महत्त्वपूर्ण प्रश्न हो ।
वैज्ञानिकहरूले गरेको दाबी अझ अनौठो छ । व्यक्तिको जन्मदिनमा मृत्युको सम्भावना अन्य दिनहरू भन्दा बढी हुने उनीहरू भन्छन् । तिनीहरू यसलाई ‘जन्मदिनको प्रभाव’ भन्छन् ।
मानिसहरूले जन्मदिनबारे फरक सोच्छन् र धेरै कारणले आफूलाई मृत्युको नजिक ल्याउन सक्छन् भन्ने वैज्ञानिकहरूको भनाइ छ । वैज्ञानिकहरूले यो प्रभावलाई पूर्ण रूपमा बुझेका छैनन् भन्ने कुरा पनि सत्य हो । यो प्रभावले काम गर्छ भन्नेमा तिनीहरूले विश्वास गरेको पाइन्छ ।
के हो जन्मदिनको प्रभाव ?
जन्मदिन एक विशेष दिन हो । मानिसहरूले वर्षको अरू दिनको तुलनामा यस दिनको उत्सव बढी मनाउँछन् । कयौँ त यो दिनमा अरू दिनको भन्दा बढी रक्सी पिउँछन् । यसले जोखिमपूर्ण व्यवहार बढाउँछ ।
मानिसहरूले गलत निर्णय पनि लिन्छन् । दुर्घटनाहरू हुनसक्छ । मादक पदार्थ सेवन गरेर गाडी चलाउनु पनि मृत्युको एउटा कारण हुनसक्छ ।
स्वास्थ्यसम्बन्धी लेख्ने लेखिका होली म्याकहगले बीबीसी साइन्स फोकसमा यसबारे लेखेकी छिन् । म्याकहग भन्छिन् कि केही मानिसहरूका लागि जन्मदिन गाह्रो हुन्छ । यसले दुःख वा तनाव ल्याउन सक्छ । यसलाई जन्मदिनको उदासी पनि भनिन्छ ।
मानिसहरू बुढ्यौली वा एक्लोपनकाबारे सोच्छन् । यसले आत्महत्याको जोखिम बढाउन सक्छ । यति मात्र होइन, केही मानिसहरू गम्भीर रोगसँग जुधिरहेका हुन्छन् । उनीहरूका लागि जन्मदिन ठुलो लक्ष्य हुन्छ ।
तिनीहरू यो दिनसम्म बाँच्ने प्रयास गर्छन् । यस्ता मानिसहरूले जन्मदिन पछि हिम्मत हार्न सक्ने वैज्ञानिकहरू विश्वास गर्छन् । यसले उनीहरूको मृत्यु हुनसक्छ ।
जन्मदिनले तनाव पनि ल्याउन सक्छ । मानिसहरू आफ्नो जीवनबारे अरू दिनभन्दा यो दिन धेरै सोच्छन् । ओहो ! मैले त केही पनि गर्न सकेको रहेनछु भन्ने लाग्यो भने यो दिन उनीहरू झनै निराश हुन सक्छन् ।
के भन्छ अध्ययनले ?
जापानमा २०१६ मा एउटा अध्ययन गरिएको थियो । जन्मदिनमा आत्महत्या गर्ने सम्भावना ५० प्रतिशत बढी रहेको सो अध्ययनमा पाइएको थियो । २०१५ मा अमेरिकामा एक अध्ययन गरिएको थियो ।
यसमा पनि जन्मदिनमा मृत्यु हुने जोखिम ६ दशमलव ७५ प्रतिशत बढी रहेको देखियो । २०१२ मा स्विट्जरल्याण्डमा गरिएको एक अध्ययनले पनि यही कुरा भनेको थियो । जन्मदिनको दिनमा ६० वर्षभन्दा माथिका मानिसहरूमा मृत्युको जोखिम १३ दशमलव ८५ प्रतिशत बढी भेटिएको थियो ।
त्यसो भए रेकर्ड गलत हुन सक्छन् त ?
केही वैज्ञानिकहरू मृत्युको रेकर्डमा गल्ती हुनसक्ने बताउँछन् । जन्म र मृत्युको दिन एकै लेखिने भएकोले पनि यस्तो हुनसक्छ । यस्ता गल्तीहरू धेरै दुर्लभ हुने तर यसले नतिजालाई धेरै असर नगर्ने होली म्याकहगको दाबी छ ।
