• Monday 5th of October 2026

सानैदेखि मरिहत्ते गर्थे दीपेन्द्र, बल नहुँदा खेल्थे मोजाभित्र भुस राखेर !


  • धनकुटा खबर
  • .

काठमाडौँ – कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका दीपेन्द्रसिंह ऐरीको चर्चा अहिले सर्वत्र छ। चीनमा जारी एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलिया विरुद्धको खेलमा उनले विश्व रेकर्ड नै बनाए।

मात्र ९ बलमा अर्धशतक पूरा गरेसंगै उनको नाममा विश्व रेकर्ड बन्यो। खेलकुदमा दीपेन्द्र सानैदेखि रुचि राख्थे। विद्यालयमा हुने हरेक खेलमा सहभागी भएर उनी प्रथम स्थान हासिल गर्ने उनको बानि नै थियो। सबै खेलमा रुची भएपनि क्रिकेटमा लगाव धेरै थियो।

दीपेन्द्र ठाउँ–ठाउँमा हुने क्रिकेट प्रतियोगितामा खेल्न जान्थे। गाउँमा क्रिकेट मैदान थिएन। कहिले खेती भित्र्याएपछि खाली बनेका गह्रालाई मैदान बनाउँथे त कहिले खोलाका किनारका चौरलाई। बल नहुँदा उनी मोजाभित्र भुस राखेर पनि क्रिकेट खेल्ने गर्थे।

दीपेन्द्रका पिता गगनसिंहको ऐरीका अनुसार खोला किनारमा मोजाको बल बनाएर दीपेन्द्र क्रिकेट खेल्थे। बुबा गगन भन्छन्,”खेलमा सानैदेखि रुचि हो, गह्रा, खोला किनारमा मोजाको बल बनाएर क्रिकेट खेल्थ्यो। घरबाट पनि हामीले सपोर्ट नै गरेका थियौँ।”

दीपेन्द्रको घर नजिकै सानो जंगल छ र जंगल नजिकै गज्जर खोला। त्यहीँ जंगलमा उनले अभ्यास पिच बनाएका छन्। पाँच वर्ष अगाडी बनेको सो पिच उनले आफ्नै लगानीमा बनाएका थिए। राष्ट्रिय टोलीमा स्थान बनाएपछि घर आएका बेला उनी त्यहिँ अभ्यास गर्थे। उनले झुललाई नेट बनाएर राखेका थिए।

“अहिले त बोटबिरुवा ठूलो भए, पिच पनि जीर्ण बन्दै गयो, कोही खेल्दैनन्। खोलाले कटान पनि गरिरहेको छ।”,भीमदत्त नगरपालिका–१० गज्जरका स्थानीय मनोज महरा भन्छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖