• Wednesday 7th of October 2026

ओलीले भने : कोसी प्रदेश सरकार जोगाउन एमालेलाई सहयोग गर्नुहोस्


  • धनकुटा खबर
  • .

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। शनिबार बिहान बालुवाटारमा कोसी प्रदेश र समसामयिक राजनीतिक विषयमा उनीहरुबीच छलफल भइरहेको स्रोतले जनाएको छ।

कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता कार्की धारा १६८ को उपाधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रबाट कोसी प्रदेश सरकार जोगाउनका लागि विश्वासको मत दिन प्रचण्डलाई आग्रह गरेका छन्। मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाउँदा कोसी प्रदेश मध्यावधिमा जाने भएकाले पनि समर्थन गर्न प्रचण्डसमक्ष ओलीले आग्रह गरेको बताइएको छ। उनले कोसीमा आलोपालो नेतृत्वको प्रस्ताव गरेका छन्। गत निर्वाचनपश्चात एमाले र माओवादीको समर्थनबाट कार्की मुख्यमन्त्री बनेका थिए तर माओवादी सरकारबाट बाहिरिएसँगै कार्की नेतृत्वको सरकार ढलेको थियो।

कार्कीले विश्वासको मत नपाएको खण्डमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने छ। कोसीमा यसअघि सबै उपाधाराको प्रयोग गरेर सरकार गठन भइसकेको छ। अब उपधारा ५ अनुसार सरकार गठन हुन मात्रै बाँकी छ। यो उपधारा बमोजिम प्रदेशसभामा बहुमत पुर्‍याउन सक्ने जुनसुकै प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने छन्।

प्रदेशसभामा सभामुख खाली छ। उपसभामुख एमालेकी सिर्जना दनुवार छिन्। सभाको अध्यक्षता गर्नुपर्ने भएपछि उनले सरकारलाई विश्वासको मत दिन मिल्दैन। उपसभामुखबाहेक एमालेका ३९ जना प्रदेशसभा सदस्य छन्। एमालेसँगै गठबन्धनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग ६ जना प्रदेशसभा सदस्य छन्। एमाले र राप्रपाका प्रदेशसभा सदस्यको संख्या ४५ मात्रै हुन्छ।

तर, बहुमत पुर्‍याउन ४७ प्रदेशसभा सदस्य हुनुपर्छ। गठबन्धन दलमध्ये नेपाली कांग्रेससँग २९, नेकपा (माओवादी केन्द्र)सँग १३, नेकपा (एकीकृत समाजवादी)सँग ४ र जनता समाजवादी पार्टी (जसपा)सँग १ जना प्रदेशसभा सदस्य छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖