• Monday 5th of October 2026

नेपालद्वारा श्रीलंका ८-० को फराकिलो अन्तरले पराजित


  • धनकुटा खबर
  • .

एएफसी महिला एसियन कप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८-० को फराकिलो अन्तरले पराजित गरेको छ। उज्वेकिस्तानमा भएको खेलमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले ह्याट्रिक पूरा गर्दा अन्य पाँच खेलाडीले गोल गरे।

खेलको सुरुवाती अग्रता नेपालले गीता रानाको गोलबाट लिएको थियो। त्यसपछि कप्तान सावित्रा भण्डारीले २० औं मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन्।

पहिलो हाफको अन्त्यतिर आक्रामक बनेकी साम्बाले ४१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् र लगत्तै अर्को गोल थप्दै पहिलो हाफमै आफ्नो ह्याट्रिक पूरा गरिन्। पहिलो हाफ सकिँदा नेपाल ४-० ले अगाडि थियो।

दोस्रो हाफमा पनि नेपालले गोलको वर्षा जारी राख्यो। ५४ औं मिनेटमा गीता रानाले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरिन्।

६१ औं मिनेटमा निशा थोकरले राष्ट्रिय टोलीका लागि आफ्नो पहिलो गोल गर्दै नेपाललाई ६-० को अग्रता दिलाइन्। खेलको ७८ औं मिनेटमा रेखा पौडेलले सातौं गोल थपिन् भने खेलको अन्त्यतिर पूजा रानाले आठौं गोल गर्दै नेपालको सानदार जित सुनिश्चित गरिन्।

यसअघि पहिलो खेलमा नेपालले लाओसलाई ९-० ले हराएको थियो भने श्रीलंका आयोजक उज्वेकिस्तानसँग १०-० ले पराजित भएको थियो।

फिफा वरीयतामा नेपाल १०० औं र श्रीलंका १५९ औं स्थानमा छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖