काठमाडौं । नेकपा (माओवादी केन्द्र) की समानुपातिक सांसद छिरिङल्यामु लामाको चरित्र हत्या गरेको आरोपमा राप्रपाका एक युवा पक्राउ परेका छन् । अदालतले उनलाई ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।
सांसद लामाको उजुरीमा राप्रपानिकट प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य रमेशबहादुर बडु (बाग) लाई प्रहरीको साइबर ब्युरोले आइतबार पक्राउ गरेको हो । बागले एआईको माध्यमबाट भिडिओ बनाएर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सांसद लामाको आरोप छ ।
बागलाई पक्राउपछि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान कार्य जारी रहेको ब्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले जानकारी दिए ।
बागले गत असार १९ मा एउटा टिकटक भिडिओ आफ्नो फेसबुकमा सेयर गरेका थिए, जसमा लामा एक युवक (प्रेमी ?) सँग ओठमा चुम्बनरत रहेको देखिन्छ । बागले भने यो भिडिओ लामा आफैंले बनाएर टिकटकमा राखेको र आफूले ‘के हो यस्तो ?’ भनेर सेयर मात्र गरेको प्रहरीलाई बताएका छन् । स्क्रिनसटमा हेर्दा chiring12sep नामको टिकटक अकाउन्टबाट भिडिओ पोस्ट भएको देखिन्छ । यो टिकटक अकाउन्ट सांसद लामाको आफ्नै भएको बुझिएको छ । तर, अहिले यो अकाउन्ट खुल्दैन ।
सांसद लामाको चुम्बनसहितको तस्बिर जनआस्था साप्ताहिकले पनि प्रकाशित गरेको थियो । गत बुधबार प्रकाशित समाचारमाथि भने सांसदले कुनै उजुरबाजुर गरेकी छैनन् । राप्रपाले सञ्चारमाध्यममा प्रकाशित सामग्री सामाजिक सञ्जालमा सेयर गरेकै आधारमा पक्राउ गरिएको भन्दै विरोध जनाएको छ ।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठले भनेका छन्, ‘नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभाको समानुपातिक सांसद जुम्लाकी छिरिङ्ग ल्यामु लामाका बारे राष्ट्रिय स्तरको साप्ताहिक पत्रिकामा प्रकाशित भएको समाचार र निज सांसद स्वयंले टिकटकमा पोस्ट गरेको सामग्रीलाई शेयर गरेको कसुरमा पक्राउ गर्ने, अनावश्यक दु:ख दिने कार्यबाट विधिको शासन, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यताको उपहास गरेको छ। युवा नेता बागको अविलम्ब र बिना शर्त रिहाइका लागि राप्रपा सरकारसंग जोडदार माग गर्दछ ।’-नेपाल प्रेस
