• Monday 5th of October 2026

साफ यू–२० महिला च्याम्पियनसिप : पहिलो हाफमा श्रीलंकाविरुद्ध नेपालको गोल वर्षा


  • धनकुटा खबर
  • .

काठमाडौँ । बङ्गलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले बिहीबार श्रीलङ्काको सामना गर्दै छ । ढाकास्थित बसुन्धरा स्पोर्टस् ग्राउन्डमा जारी खेलमा नेपालले पहिलो हाफमा ४–० को अग्रता बनाएको छ ।

खेलको १५ औँ मिनेटमा पूर्णिमा राईले गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । प्रतियोगितामा उनको यो सातौँ गोल थियो । उनले पहिलो खेलमा भुटानविरुद्ध ४ गोल तथा श्रीलंकाविरुद्धको यसअघिको खेलमा २ गोल गरेकी थिइन् ।

३५ औँ मिनेटमा कुसुम खतिवडाले टोलीको अग्रता दोब्बर बनाइन् । ४२ औँ मिनेटमा सरिता नाथले फ्रिककमार्फत शानदार गोल गर्दै टोलीको अग्रता फराकिलो बनाइन् । दुई मिनेटपछि कुसुमले टोलीका लागि व्यक्तिगत दोस्रो गोल थपिन् ।

नेपाल र श्रीलङ्का प्रतियोगितामा दोस्रो पटक आमनेसामने हुन लागेका हुन् । यसअघि मंगलबार भएको खेलमा नेपाल ७–० को विशाल अन्तरले विजयी भएको थियो ।

यसपटक प्रतियोगिता ४ सहभागी राष्ट्रबिच डबल राउन्ड रोबिन आधारमा खेलाइँदैछ । सबै खेल सकिएपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्ने छ ।

पहिलो चरणको खेलपछि नेपाल ३ खेलबाट ६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । आयोजक बङ्गलादेश ९ अङ्क बटुल्दै शीर्ष स्थानमा कायम छ । भुटान ३ अङ्कसहित तेस्रो र अङ्कविहीन श्रीलङ्कामा तालिकाको पुछारमा छ ।

नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोल अन्तरले हराएको थियो । तर, दोस्रो खेलमा बङ्गलादेशसँग प्रतिस्पर्धात्मक खेलमा २–३ गोलले स्तब्ध बन्न पुगेको थियो ।

आजै दोस्रो खेलमा बङ्गलादेश भुटान भिड्ने छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖