• Wednesday 7th of October 2026

एकीकृत समाजवादीका डोटी अध्यक्ष पदमुक्त


  • धनकुटा खबर
  • .

डोटी । नेकपा एकीकृत समाजवादीका डोटी जिल्ला अध्यक्ष दीर्घराज बोगटीलाई पदमुक्त गरिएको छ ।

शनिवार एकीकृत समाजवादीका डोटी जिल्ला इन्चार्ज पूर्णा जोशीले एक विज्ञप्ति जारी गर्दै बोगटीलाई पदमुक्त गरिएको बताएकी छन् ।

विज्ञप्तिमा अध्यक्ष बोगटीले पार्टी कमिटी र माथिल्लो कमिटीले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको आरोप लगाइएको छ ।

‘पार्टी निर्णय कार्यान्वयन गर्न गराउनुको सट्टा पार्टी अनुशासन र हित विपरीतका गतिविधिमा अध्यक्ष स्वयं संलग्न हुनु भएको जानकारी आएकाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टीलाई विधि पद्धति बमोजिम सञ्चालन गर्दै पार्टीका निर्णय कार्यान्वयन गर्न अध्यक्ष कमरेड दीर्घराज बोगटी उदासीन र गैर जिम्मेवार हुनु भएकोले निजलाई पदमुक्त गरी वर्तमान उपाध्यक्ष शिवराज खड्कालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ ।’

पदमुक्त गरिएको विषयमा आफूलाई कुनै जानकारी नभएको बोगटीले प्रतिक्रिया दिए । उनले भने ‘खै, त्यस्तो जानकारी आएको छैन, किन पदमुक्त गरियो थाह भएन ।’

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट पूर्वी चौकी गाउँपालिकाको अध्यक्षमा निर्वाचित बोगटीले एमाले विभाजनपछि एकीकृत समाजवादीमा सनाखत गरेका थिए ।

बोगटी आइतबार एमालेमा फर्किने हल्ला छ ।

एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन सत्रमा उनी लगायत केही नेताहरू पार्टीमा फर्किने तयारी भएको एक एमाले नेताले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖