• Monday 5th of October 2026

म्याकुरीलाई पूर्वपत्नीको फोन गरेर मेरो भिडिओ हेरेउ भनेपछि…


  • धनकुटा खबर
  • .

काठमाडौँ । वैवाहिक जीवन तोडिएपछि एक-अर्कासँग संवाद र बोलचालै गर्नु हुँदैन भन्ने कहाँ लेखेको छ र । जब एक-अर्काको कुनै पनि क्रियाकलापले समस्या आउँछ, आपसी संवादबाटै सुल्झाएको राम्रो हो ।

कमेडियन पवन खतिवडा उर्फ ‘म्याकुरी’ की पूर्वपत्नी सुम्निमा खालिङ राईले पनि संवादकै बाटो अपनाएकी छन् । केही दिनअघि एक भिडियो सार्वजनिक गर्दै उनले म्याकुरीको कमेडीमा विवाह र डिभोर्सको प्रसंगलाई बारम्बार ल्याउँदा आफूलाई अप्ठेरो परिरहेको गुनासो पोखेकी थिइन् । अहिले उनले म्याकुरीलाई फोनै गरेर सम्झाएकी छन् ।

टिभी रियालिटी शो ‘कमेडी दरबार’ मा म्याकुरी आफंैले आफ्नो असफल वैवाहिक सम्वन्धलाई ‘कन्टेन्ट’ को मसला बनाउँदै आएका छन् । अन्य कलाकारहरुले पनि म्याकुरीलाई ‘पत्नीपिडित’ वा ‘पत्नीबाट कुटाइ खाने पुरुष’ का रुपमा चित्रित गर्दै मजाक गर्छन् । यसबाट दर्शकलाई मनोरञ्जन भए पनि आफुलाई समस्या परेको भनाइ सुम्निमाको छ । यही विषयमा उनले म्याकुरीसँग फोनमा कुराकानी गरेकी हुन् ।

सुम्निमाले म्याकुरीलाई फोन गरेको भिडियो रेकर्ड नै गरेर आफ्नो अफिसियल युट्युब च्यानलमा हालेकी छिन् । १९ हजार २ सय सब्सक्राइबर भएको च्यानलमा यो भिडिओले एक लाखभन्दा बढी भ्यूज बटुलिसकेको छ । रोचक के भने सुम्निमाले यो संवादलाई प्रोफेसनलाइज्ड गर्न कुनै कसर छोडेकी छैनन् । भिडिओको सुरुवातमा हाइलाइट्स पनि निकालिएको छ । यो भिडिओ १६ मिनेटभन्दा लामो छ ।

भिडिओ रेकर्ड गरेकाले पनि हुन सक्छ, उनी पूर्वपतीसँग शालिन र सौम्य तरिकाले प्रस्तुत भएकी छन् । म्याकुरीले पनि सकारात्मक रेस्पोन्स गरेको सुनिन्छ ।

म्याकुरी र सुम्निमाको फोन संवाद यसरी सुरु भएको छः

सुम्निमाः हेलो, पवन सर होइन ? म सुम्निमा बोलेको । एउटा काम थियो ।

पवनः हजुर हजुर ।

सुम्निमाः म एउटा मिडियाबाट बोलिरहेको छु । एउटा कुराले तनाव भएर सल्लाह गर्न फोन गरेको ।

पवनः के सल्लाह ?

सुम्निमाः तिमीले कमेडी गर्दा जहिले बुढी-बुढी… भन्छौ । मैले त्यस्तो नगर भनेर एउटा भिडियो पनि बनाएकी थिएँ । तिमीले हेर्यौ कि हेरेनौ ?

पवनः अँ मैले थाहा पाइराथेँ ।

सुम्निमाः त्यसो नगर्देउ भन्नलाई हो के मैले फोन गरेको । धेरै कमेन्ट आयो ।

पवनः होइन, मैले त्यसरी डाइरेक्टली भनेको छैन । घुमाएर भनेको हो । त्यै पनि अचेल मैले त्यस्तो धेरै यो कुराहरु गर्दिनँ नि ।’

सुम्निमाः अस्ति भर्खरको एपिसोडमा पनि ‘मान्छेले बुझेर बिहे गर्नुपर्छ’ भन्दै थियौ । त्यस्तो भन्दा त मान्छेहरुले मलाई नै सोच्छन् नि । जे भए पनि दाग लागिसक्यो । यो कुरा बिर्सिन खोज्यो, बेलाबेला फेरि यही कुरा आउँछ । पहिला ठिकै छ भन्ने सोचेर मैले छोडिदिएँ । तर अहिले सबैले मलाई नै नराम्रो भन्न थाले । जेमा पनि मेरै नाम हुन्छ । त्यो कारणले भनेको के । ठीकै छ । अहिलेसम्म जे भयो भयो, अब यस्तो नगर्देउ भन्नलाई हो के ।’

पवनः त्यस्तरी सिधै पीन्च पर्ने गरी त भनेको छैन…

सुम्निमाः भिडियो हाल्दा पनि मान्छेले सानो क्लीप काटेर हाल्दिन्छन् । त्यहीँ क्लीप हेरेर मलाई मान्छेले बुढी नै खत्तम रहेछ भनेर जज गर्छन् । त्यो नजरले हेर्दा गाह्रो भयो के । होस न त भनेर सहेको । तर बिर्सिन खोजेको कुरा बारम्बार आइराख्छ । सहनु पनि कति ! मैले मजाक गर्नलाई बिहे गरेको थिइनँ । त्यसरी बिहेलाई मजाक गर्नु राम्रो हैन, त्यो पनि कलामा मिसाएर । अरु त कसैले त्यस्तो गरेको छैन ।

पवनः तिम्रो कुरा मैले बुझें, थ्यांक यु त्यसका लागि । म हल्लामा छु के अहिले । फोन काटिन्छ

फोन काटिएपछि सुम्निमाले यसअघि पवनको एउटा अन्तरवार्तालाई लिएर गुनासो गर्छिन् । उक्त अन्तरवार्तामा पवनले आफ्नो निजी कुराहरु तोडमोड गरेर बाहिर ल्याएपछि आफूले मुद्दा हाल्नेसमेत सोचेको उनले बताए ।

‘त्यसबेला उसलाई म्यासेन्जरमा मार गाली गरेको थिएँ । उसले एक दुई वचन फर्कायो । अहिले त म्यासेन्जरमा ब्लक गरेको छु,’ सुम्निमाले भनिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖