काठमाडौं । सन् २०३४ मा हुने फिफा विश्वकप आयोजना गर्न साउदी अरेबियाले गरेको प्रस्तावमा नेपालले साथ दिने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एक विज्ञप्ति जारी गर्दै २०३४ को विश्वकप आयोजना गर्न साउदीले गरेको प्रस्तावमा एन्फाका पूर्ण समर्थनको प्रतिबद्धता व्यक्त गरेको छ ।
“साउदी अरेबियाले गरेका प्रस्तावमा समर्थन गर्न पाउनु एन्फाका लागि सौभाग्यको कुरा हो । नेपाल र साउदी अरेबियाबीच राजनीतिक र सामाजिक सम्बन्ध उत्कृष्ट र पाँच लाखभन्दा धेरै नेपाली रोजगारको क्रममा साउदी गएका छन्,” एन्फाको विज्ञप्तिमा भनिएको छ, “साउदीले २०३४ को विश्वकप आयोजनाका लागि गरेको प्रस्ताव फुटबलप्रति एसियामा रहेको मायालाई पुनः देखाउने एक उत्कृष्ट अवसर बन्नेछ भन्ने कुरामा एन्फा पूर्ण विश्वस्त छ।”
यसअघि, गत वर्ष कतारमा विश्वकप आयोजना भएको थियो । विश्वकपको आगामी संस्करण आयोजना गर्न अमेरिका, मेक्सिको र क्यानडाले अधिकार पाएका छन् ।
यस्तै, सन् २०३० को विश्वकप अर्जेन्टिना, उरुग्वे, पराग्वेसँगै स्पेन, पोर्चुगल र मोरोक्कोमा आयोजना हुने फिफाले जनाएको छ ।
