• Monday 5th of October 2026

विवाहको प्रस्ताव राख्दै रोनाल्डोले जर्जिनालाई दिए १६ करोड रुपैयाँभन्दा बढीको औँठी


  • धनकुटा खबर
  • .

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिगेजलाई विवाहको प्रस्ताव राख्नका लागि निकै ठुलो खर्च गरेका छन् । उनले जर्जिनालाई दिएको हिराको औँठीको मूल्य निकै महँगो रहेको खुलासा भएको छ।

उनीहरूको सम्बन्धको अवस्थाबारे धेरै वर्षको अड्कलबाजीपछि गोप्य विवाहको पनि अनुमान गरिएको थियो । रोनाल्डो र रोड्रिगेजले अब विवाहको तयारी भइरहेको कुरा सार्वजनिक गरेका छन्। विवाह कहिले हुन्छ भन्नेबारे कुनै जानकारी दिइएको छैन।

रोनाल्डोले अन्ततः जर्जिनालाई औँठी लगाएका छन् र आफ्नो लामो समयदेखिको प्रेमिकालाई श्रीमती बनाउन तयार भएका छन्। अर्जेन्टिनामा जन्मिएकी मोडल तथा इन्फ्लुएन्सरले इन्स्टाग्राममा एउटा फोटो पोस्ट गरेकी छन्, जसमा रोनाल्डोले उनको औँलामा लगाएको चम्किलो ओभल-कट हिराको औँठी देखाइएको छ। ३१ वर्षीया जर्जिनाले रोनाल्डोको बहुप्रतीक्षित प्रस्तावलाई ‘हुन्छ’ भनेकी छन्।

अमेरिकी विवाह पत्रिका ‘ब्राइड्स’ ले गहना विशेषज्ञ बेन्जामिन खोरदिपुरलाई उक्त औँठीबारे सोधेको थियो। उनले भने, ‘हामीलाई लाग्छ, यो २२ क्यारेटको ओभल हिरा हो, जसको रङ एच (एच) र स्पष्टता भीएस१ हो। यो प्ल्याटिनममा जडिएको छ र यसमा दुईवटा ओभल हिरा पनि छन्, जसको तौल प्रत्येक २ क्यारेट छ। यो औँठीको मूल्य १२ लाख डलर (१६ करोड रुपैयाँभन्दा बढी) रहेको छ।”

रोनाल्डोले यसअघि जर्जिनासँग विवाह गर्नेबारे भनेका थिए, जो उनका पाँच सन्तानमध्ये दुईकी आमा पनि हुन्, ‘यो एक वर्षमा, छ महिनामा वा एक महिनामा पनि हुन सक्छ। मलाई १००० प्रतिशत विश्वास छ कि यो पक्कै हुनेछ।’

रोनाल्डो र जर्जिना सन् २०१६ देखि सँगै छन्, जब उनीहरूको भेट म्याड्रिडको एउटा गुच्ची स्टोरमा भएको थियो। ४० वर्षीय पोर्चुगिज सुपरस्टार अहिले साउदी प्रो लिगको अल-नासर क्लबमा छन् र उनी विश्वका सबैभन्दा बढी कमाइ गर्ने खेलाडीमध्ये एक हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖