• Wednesday 7th of October 2026

इजरायलमा ढले कन्हैयालालका सहारा


  • धनकुटा खबर
  • .

२२ असोज, धनगढी । २५ भदौमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इजरायल उड्नुअघि आशिष चौधरीले फोन गरेर भनेका थिए, ‘बाजे केहीबेरमा उड्दैछु, तपाईंहरु राम्रोसँग बस्नुहोला ।’

२५ वर्षीय आशिष सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको कृषि विज्ञान संकायबाट बिएस्सी एगि्रकल्चरको अध्ययन सकेर इजरायल जाँदै थिए । कैलालीको जोशीपुर गाउँपालिका-५ का ७० वर्षीय कन्हैयालाल चौधरीलाई नाती आशिषले इजरायल उड्नुअघि भएको फोन सम्वाद अझै पनि याद छ । आशिष भने अब उनीसँग रहेनन् ।

प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले शनिबार इजरायलमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको छ । मारिनेमा आशिष पनि छन् । यो खबरलले परिवार विक्षिप्त छ । कन्हैयालाल सानैदेखि आफ्नै काखमा हुर्काएका नातीको मृत्युको खबरले छिनछिनमा भावविह्वल हुन्छन् । आफूलाई सम्हाल्ने प्रयास गर्छन्, तर सक्दैनन् ।

आशिष उनको कान्छी छोरीको छोरा हुन् । छोरी-ज्वाइँ भारतको बैंङ्लोरमा बस्दै आएका छन् । आशिषको पालनपोषण बाजे कन्हैयालालले गरेका थिए । उनका दुई छोरी र एक छोरा छन् । तर छोरा २०५४ सालमा प्यारालाइसिस भएर छोरा अपाङ्ग छन् । उनको हेरचाह पनि कन्हैयालाल आफंैले गर्नुपरेको छ । नाती आशिष उनको साहारा थियो ।

‘आफ्नै काखमा खेलाए, हुर्काए, पढाए तर आज पापी दैवले चुडेर लग्यो । अब म कसको सहारामा बाचौं ?’ नाती सम्भिmँदै कन्हैयालाल भक्कानिए, ‘यो पापी संसारमा कसरी बाँचु ?’
आशिष ११ महिनापछि इजरायलबाट फर्किने बाचा गरेर गएका थिए । शनिबार इजरायलमा हमासले आक्रमण गरेको सुनेदेखि नै नातीको अवस्थाबारे चासो लिएका उनले अरुबाटै मृत्युको खबर थाहा पाए । आशिष अब कहिल्यै नफर्किने भएका छन् ।

छोराको मृत्युको खबरले विक्षिप्त बनेका कन्हैयालालका छोरी-ज्वाइँ बैंङ्लोरबाट कैलाली फर्किरहेका छन् । कन्हैयालाल नातीको सास नभए पनि अन्तिम पटक लास हेर्न चाहन्छन् । इजरायलमा रहेको नातीको लास ल्याउने प्रबन्ध मिलाइदिन उनले सरकारसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖