• Friday 23rd of October 2026

ओली, प्रचण्ड, नेपालसहित मन्त्रीहरूलाई राखिएको छ शिवपुरीमा


  • धनकुटा खबर
  • .

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरूलाई उनीहरूको सुरक्षार्थ शिवपुरीस्थित सैनिक तालिम केन्द्रमा राखिएको छ।

निवर्तमान प्रधानमन्त्री ओली, उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल लगायत सबै मन्त्रीहरूलाई शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा राखिएको सेनाको उच्च स्रोतले जानकारी दियो।

यसबारे ओलीले बुधबार राति नै एक पत्र जारी गर्दै पुष्टि गरेका छन्।
मन्त्रीहरूलाई मन्त्री निवास भैंसेपाटीबाट र प्रचण्ड र नेपाललाई भने सिंहदरबारबाट हेलिकप्टरमा शिवपुरी लगिएको स्रोतले बतायो।

स्रोत अनुसार सिंहदरबारमा प्रचण्डले विपक्षी दलको बैठक डाकेका थिए। माधव नेपाल पनि त्यस बेला त्यही थिए। सोही समयमा आन्दोलनकारीहरूले प्रचण्डको घरमा आगजनी गरेको खबर आएपछि उनीहरू दुवै जनालाई सेनाले लगेको हो।

निवर्तमान प्रधानमन्त्री ओलीका तर्फबाट भनेर केहीबेरअघि एउटा वक्तव्य सार्वजनिक भएको छ। उक्त वक्तव्य निवर्तमान प्रधानमन्त्री ओलीका तर्फबाट जारी भएको भन्दै प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले सामाजिक सञ्जालमा राखेका हुन्।

उक्त सन्देशमा ओलीले आफू शिवपुरीको एकान्त सुरक्षा घेराभित्र रहेको बताएका छन्।

केपी ओलीले मंगलबार दिउँसो २ बजे प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। राजीनामा दिएलगत्तै नेपाली सेनाले उनलाई हेलिकोप्टरमार्फत् बालुवाटारबाटै सुरक्षित स्थानमा लगेको थियो। केपी शर्मा ओलीसहित राष्ट्रपति, मन्त्रीहरू, शीर्ष नेताहरूलाई नेपाली सेनाले सुरक्षित स्थानमा राखेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖