• Friday 23rd of October 2026

कम्युनिस्ट पार्टी एकताका लागि एमाले र माओवादी पङ्क्तिलाई घनश्यामको आह्वान


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले र माओवादीलाई कम्युनिस्ट एकताको लागि आह्वान गरेका छन्। २३ गते सत्ताले गरेको नरसंहार र २४ गते मुलुकभरिका अपराधीहरूले गरेको ताण्डवले आफूहरूको नालायकीको पराकाष्ठालाई छर्लङ्ग पारेको भन्दै एकताको प्रस्ताव अघि सारेका हुन् ।

उनले भनेका छन् ‘हाम्रा राजनीतिक संरचना र प्रक्रियाको यो भन्दा हरिबिजोग कहिल्यै हुने छैन । अहिलेको राजनीतिक गतिरोध जसरी अगाडि बढे पनि हामी असाधारण सङ्कटका सामु उभिएका छौँ । यस अवस्थामा, म देशभक्ति, लोकतन्त्र र मुलुकको समृद्धिको आकाङ्क्षा बोकेका सबै राजनीतिकर्मीहरूलाई सबै बारबन्देज भत्काएर खुल्ला छलफलमा उत्रिन आह्वान गर्दछु ।’

उनले एमाले र माओवादीको विचार एउटै भएपनि नेताहरूका स्वार्थका खरानी रेखाले मात्रै विभाजित गरेको उल्लेख गरेका छन्।

उनले थपेका छन्,‘ म कम्युनिस्ट आन्दोलनमा हुर्केको एउटा सक्रिय व्यक्तिका हिसाबले सबै कम्युनिस्ट पार्टीका सदस्यहरू, खासगरि नेकपा एमाले र नेकपा माओवादीको स्कूलिङ्बाट हुर्केका देशभित्र र बाहिर रहेका प्रिय कमरेडहरू, हाम्रो आन्दोलनमा बौद्धिक तथा सांस्कृतिक योगदान गर्ने सबै बुद्धिजीवीहरू र यस आन्दोलनका सक्रिय समर्थक तथा शुभचिन्तकहरूलाई आह्वान गर्न चाहन्छु स् हाम्रो विचार एउटै हो, नेताहरूका स्वार्थका खरानी रेखाले मात्रै हामीलाई विभाजित गरेको छ, हामी एक ठाउँमा उभिन्छौँ भनेर सङ्कल्प गर्नासाथ एउटा ऐतिहासिक राजनीतिक शक्ति जन्मिन्छ, इतिहासको यस कालखण्डमा केवल एउटा सङ्कल्पको खाँचो छ, हामीलाई विभाजित गर्ने ती सबै बन्धन चुँडाल्न तयार होऔँ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖