• Friday 23rd of October 2026

रवि लामिछानेलाई रिहा गर्दा गृहमन्त्रालयलगायत सुरक्षा निकायसँग मैले समन्वय गरेको हुँ : डीपी अर्याल


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेलाई कारागारबाट रिहा गर्ने प्रक्रियामा गृहमन्त्रालयसहितका सुरक्षा निकायसँग आफूले प्रत्यक्ष समन्वय गरेको बताएका छन्।

शुक्रबार राति सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको पोस्टमा उनले सभापति लामिछानेबारे भ्रमपूर्ण प्रचार भइरहेको भन्दै त्यसबारे प्रष्ट पारेका हुन्।

‘पार्टी सभापति कारागारबाट निस्कने बेलाको साक्षी म हुँ। पत्र बुझ्ने पनि म हुँ। पत्र मेरो अगाडि हस्ताक्षर भएको हो। पत्र फेक होइन, हतार र हतासमा व्यहोराहरू तलमाथि भएको हुनसक्छ,’ अर्यालले स्पष्ट पारेका छन्।

उनको दाबी अनुसार पत्रमा मिति सच्याइएको भए पनि हस्ताक्षर र छाप त्यही सच्याइएको मितिमै गरिएको हो। ‘यस्ता पत्रहरू कम्प्युटरमा भएकै व्यहोरामा टाइप गरिने हुँदा अघिल्लो पत्रका विवरण डिलेट नभएका होलान्,’ उनले लेखेका छन्।

अर्यालले कारागारको जोखिमपूर्ण अवस्थाका कारण ढिलाइ भए ठूलो क्षति हुने अवस्था रहेको पनि जनाए। ‘१० मिनेट ढिलो भएको भए अहिले हामीले श्रद्धाञ्जली लेख्नुपर्ने हुनसक्थ्यो,’ उनले भने।

उनले पार्टी सभापति लामिछानेलाई जेल प्रशासनले बोलाएकोबित्तिकै आफूहरू जाने तयारीमा रहेको, सभापति आज पनि कारागार जान निस्किए पनि पहिले सिडिओ र जेलरसँग छलफल गरेर अवस्था बुझ्ने निर्णय भएको जानकारी दिएका छन्। जेनजी आन्दोलनका क्रममा सहकारी ठगीमा पुर्पक्षमा रहेका उनी नक्खु कारागारबाट बाहिरिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖