काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति शेरबहादुर देउवा माथि भएको हातपात गरिएको घटनाको जति निन्दा गरेपनि कम हुने बताएका छन् ।
गत मंगलबार बुढानीलकण्ठस्थित देउवा निवास पुगेका प्रदर्शनकारीले उनी र पत्नी आरजु राणा देउवामाथि कुटपिट गरेका थिए । कुटपिटपछि घाइते अवस्थामा रहेको उनीहरु दुबैको सुरक्षा निगरानीमा उपचार भइरहेको छ । देउवा दम्पत्ति माथि कुटपिट गरेका प्रदर्शनकारीले उनको घरमा आगो लगाएर ध्वस्त बनाएका छन् । देउवा निवासमा रहेका सरसामान समेत प्रदर्शनकारीले लिएर लगाएका थिए ।
उक्त घटनाको निन्दा गर्दै नेता डा. कोइरालाले सभापति देउवाको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय त्याग, संघर्ष र इतिहास रहेको उल्लेख गरेका छन् । कोइरालाले विज्ञप्ति निकालेर भनेका छन्,‘उहाँ माथि घरमा बसीरहेको समयमा पत्नी समेतमाथि गरिएको हातपात र लुटपाटलाई म जघन्य अपराधको कोटीमा राख्छु, यसको जति निन्दा गरेपनि कम हुन्छ ।
२४ भदौमा प्रदर्शनकारीले कोइराला निवास समेत जलाएका थिए । कांग्रेस संस्थापक नेता बीपी कोइरालाका बुबा कृष्णप्रसाद कोइरालाले १ सय वर्ष भन्दा अगाडि बनाएको घरमा गिरीजाप्रसाद कोइराला हुँदै हाल नेता शेखर बस्दै आएका थिए । हजारौं लोकतान्त्रिक योद्धाहरुको भावना जोडिएको निवासमा आगो लगाइएको भन्दै शेखर भन्छन्,‘कोइराला निवासको भौतिक संरचना खरानी हुनसक्छ । तर विचार र लोकतान्त्रिक आन्दोलनलाई जलाउन सकिन्न । विपी विचार मर्न सक्तैन । पिताजीको सामाजिक आन्दोलनको विज र राज्यलाई प्रश्न गर्ने क्षमताले विश्राम किमार्थ लिइँदैन । कोइराला निवासको खरानी विजवाट नुतन कांग्रेसको नवनिर्माणमा जुट्ने प्रण गरौं ।’
