• Thursday 22nd of October 2026

प्रधान सेनापतिलाई पत्र लेख्दै दुर्गा प्रसाईले यसो भने…


  • धनकुटा खबर
  • .

सम्माननीय प्रधान सेनापति ज्यु,
नमस्कार !
अन्तरिम सरकारको नेतृत्व र जिम्मेवारी दिने विषयमा, सर्वप्रथम हामीलाई विश्वास गरी आह्वान गर्नुभएकोमा तपाईं र सम्पूर्ण नेपाली सेनाप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।

आज हाम्रो काँधमा केवल सर्वहारावर्ग, भुइँमान्छे र उत्पीडित वर्गका पीडाहरू मात्र होइन, लघुवित्त, बैंक र सहकारीबाट पीडित, कालो सूचीमा परेका नागरिक, रोजगारीका लागि विदेशिन बाध्य भएका युवा तथा आवाजविहीन जनताको आशा, भरोसा र भविष्यको जिम्मेवारी पनि रहेको छ। यी जनतालाई सडकमा छाडेर, अभिभावकविहीन बनाइ, केवल पद र सत्ता खोज्दै सरकारमा जाने हाम्रो कुनै व्यक्तिगत स्वार्थ छैन।

राजनीतिक दलहरूको गठबन्धन सरकारले देश सञ्चालन गर्दा पनि हामी निरन्तर नागरिकका मुद्दा बोकेर सडकमा उभियौँ र जेल जीवन समेत बितायौँ। त्यसैले, नवगठित अन्तरिम सरकारलाई हामी स्पष्ट सन्देश दिन चाहन्छौँ — व्यवस्था परिवर्तनसँगै नागरिकको जीवनस्तरमा सुधार गर्ने हाम्रा मागहरू पूरा नगरी हामी सरकारमा प्रवेश गर्ने छैनौँ।

हामी दृढतापूर्वक विश्वास गर्छौँ कि कुनै पनि आन्दोलन देशको माटो र जनताको आवश्यकतामा आधारित हुनुपर्छ। विदेशी शक्तिको पैसा र निर्देशनमा चलाइने आन्दोलनबाट नेपाल र नेपालीको भाग्यमा दिगो परिवर्तन सम्भव हुँदैन। नेपाललाई प्रयोग गरी छिमेकी मुलुकहरू विरुद्ध षड्यन्त्र गर्ने कुनै पनि प्रयास हामीलाई स्वीकार्य छैन।

हाम्रो अडान स्पष्ट छ — विद्यमान संविधान खारेज हुनुपर्छ र नेपाललाई पुनः सनातन हिन्दू अधिराज्य घोषणा गर्नुपर्छ। मुलुकको सार्वभौमिकता र सांस्कृतिक पहिचानविरुद्ध भइरहेका यस्ता षड्यन्त्रहरूलाई हामी घोर भर्त्सना गर्दछौँ।

हाम्रो पूर्वघोषित योजनाअनुसार, हामी दल दर्ताको अन्तिम तयारीमा छौँ। आगामी निर्वाचनमा भाग लिएर जनताको विश्वास जित्दै, वर्षौँदेखि उठाइरहेका मुद्दाहरूको दीर्घकालीन समाधान दिने स्पष्ट योजनासहित सरकारमा सहभागी हुने हाम्रो अटल अडान रहेको कुरा सम्बद्ध निकाय र आम नागरिकसमक्ष प्रष्ट पार्न चाहन्छौँ।

देश र जनताको आशा–भरोसा पूरा गर्न हामी निरन्तर सडकमा पनि रहनेछौँ।

नेपाली जनताको विश्वास जित्दै, मुलुकलाई स्थायित्व, सुशासन र समृद्धिको दिशामा अगाडि बढाउन सफल होस् भन्ने हाम्रो हार्दिक अपेक्षा छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖